☰ open Loading... 2 May 2024|  

किसानलाई दुहुना भैँसी र उन्नत जातका बाख्रा वितरण
  | १३ असार २०७८, आईतवार २०:३१

जुम्ला । यहाँको चन्दनाथ नगरपालिकाले व्यवसायीक किसानलाई दुहुना भैसी र उन्नत जातका बाख्रा वितरण गरेको छ ।

व्यवसाय प्रर्बद्धनसँगै आयआर्जन बृद्धि गरी किसानको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्यका साथ चन्दननाथले किसानलाई अनुदानमा भैसी र उन्नत जातका बाख्रा वितरण गरेको हो ।

शुक्रबार चन्दननाथ नगरपालिकाका वडा नं। ३, ८ र ९ का व्यवसायीक किसानहरुलाई गाउँमै पुगेर भैसी, राँगा र उन्नत जातका बाख्रा वितरण गरिएको मेयर कान्तिका सेजुवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोनाका कारण सयौँको रोजगारी गुमेको छ । उद्योगधन्दा संचालन गर्न सक्ने अबस्था छैन् । नगरभित्रका विपन्न तथा व्यवसायीक कृर्षकलाई ७५ प्रतिशत अनुदानमा भैँसी बाख्रा दिएका छौँ । कृर्षकको आयआर्जनमा थप सुधार हुने अपेक्षा छ ।”

मेयर सेजुवालका अनुसार चन्दननाथ नगरपालिकाको वडा नं। ३ मा ४२ वटा उन्नत बाख्रा, ८ नम्बर वडामा १० वटा दुहुना भैसी, १ राँगा र ४२ वटा बाख्रा वितरण गरिएको छ । ९ नम्बर वडामा पनि १० भैसी र १ वटा राँगा वितरण गरिएको हो ।

२५ प्रतिशत किसानको लागत साझेदारी र ७५ प्रतिशत नगरपालिकाको शर्सत तर्फको बजेटबाट किसानलाई भैसी, बाख्रा उपलब्ध गराइएको हो ।

चन्दननाथ नगरपालिकाको पशु शाखामा सुचिकृत भएका तथा विगतदेखि पशुपालनमा लागेका व्यवसायीक कृर्षक तथा समुहले मात्रै सेवा पाएको मेयर सेजुवालको भनाई छ ।

किसानलाई करिब ३६ लाख बराबरका भैसी राँगा र बाख्रा वितरण गरिएको छ ।

मेयर सेजुवालले थप्नुभयो, “८ र ९ नम्बर वडामा २१ लाख बराबरका २० वटा भैसी र २ वटा राँगा वितरण गरिएको छ । वडा नम्बर ३ र ८ मा १५ लाखका ८४ वटा उन्नत बाख्रा वितरण गरिएको छ ।”

व्यवसाय प्रर्बद्धनसँगैै कृर्षकको जीवनस्तरमा सुधार भए नभएको विषयमा अनुगमन तथा निरिक्षण गरिने भएको छ । राम्रो गरेका किसानलाई भैसीको दुधबाट परिकार बनाउन सिप र तालिम दिईने छ ।

त्यस्तै बाख्रा पालनका लागि आधुनिक खोर निर्माणलाई अघि बढाईने भएको छ ।

यदपी, लक्ष्य अनुसार व्यवसाय अघि बढाएका किसानलाई भने भविष्यमा अन्य सरकारी सेवा सुविधाबाट समेत बन्चित गराईने छ ।

जुम्लामा गाई भैसी, बाख्रा पालनका लागि उत्तम समय भनेकै असारदेखि कार्तिकसम्म हो । यस बेला अत्रिकांश किसान लेकतिर हुन्छन् । यो बेला चरणक्षेत्र प्रसस्त हुने भएकाले पशुपालन फष्टाउने विश्वास गरिएको छ ।