☰ open Loading... 17 May 2024|  

किसानलाई नि:शुल्क बिरुवा वितरण
  | १३ असार २०७८, आईतवार २०:३९

 

रुकुम पश्चिम : आठबिसकोट नगरपालिकाका  किसानलाई  नि:शुल्क बिरुवा वितरण गरिएको छ । वन डिभिजन कार्यालय रुकुम पश्चिमको सहयोगमा  जनभावना श्रम सहकारी संस्था आठबिसकोटले विभिन्न जातका ११ हजार ८ सय बिरुवा नि:शुल्क वितरण गरेको हो ।

 

‘आठबिसकोट नगरपालिकाको वडा नम्बर ११ मा यी जातका बिरुवाको उत्पादन पनि बढी हुन्छ’, सहकारीका अध्यक्ष दलजित नेपालीले मध्यान्हसँग  भने, ‘त्यसैले हामीले वार्षिक कार्यक्रम अन्तर्गत यहाँको माटोमा सुहाउँदो बिरुवा छनोट गरेर वितरण गरेका छौँ ।”

 

अघिल्लो वर्ष पनि किवी,सुन्तला,नास्पती, कागती लगायतका बिरुवा वितरण गरेको जानकारी दिँदै अध्यक्ष नेपालीले यसवर्ष पनि किसानलाई टिमुर, कागती, सुन्तला, अनार, मौसम, ध्यार सल्ला (देवदार) गरी ११ हजार ८ सय बिरुवा वितरण गरिएको बताए ।

No description available.

उनका अनुसार कृषि  क्षेत्र विस्तार गर्ने कार्यक्रमअन्तर्गत वार्षिक रुपमा ठूलो सङ्ख्यामा विभिन्न किसिमका  बिरुवा वितरण गरिएको हो । नगरपालिकाको वडा नं ११ अन्तर्गत मंग्रा, रुजिगाउँ, लवाङ, सल्लेरी, टमटाबारा ढारकम्द, सिन्चिउरा, माझगाउँ, तल्लागाउँ र  नाैलाकाेटका ३५० किसानलाई करिब १० लाख बराबरको बिरुवा वितरण गरिएको उनले जानकारी दिए ।

 

जनभावना सहकारी संस्थाले माग फारम भरेका आधारमा किसानलाई बिरुवा उपलब्ध गराइएको वन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

 

उन्नत जात र रोग सहन सक्ने बिरुवा भएकाले अघिल्लो वर्षमा लगाएका बिरुवाले उत्पादनसमेत दिइसकेको र आगामी वर्षमा पनि  उत्पादनको मात्रा थप हुने अध्यक्ष नेपालीको विश्वास छ । कागती, किवी, टिम्मुर, सुन्तला लगायतका बिरुवाको लागि यहाँको माटो सुहाउँदो रहेको कृषि प्राविधिकले बताउँदै आएका छन् ।

 

विगत ३ वर्षदेखि निरन्तर कृषिमा जोड दिँदै आएको श्रमसहकारीले आगामी वर्षहरुमा पनि कृषि क्षेत्र विस्तार कार्यक्रमको निरन्तरता दिइने बताइएको छ । कर्णाली प्रदेश सभाका सांसद रातो कामिको पहलमा र डिभिजन वन कार्यालयको सहयोगमा किसानलाई बिरुवा वितरण गरेको संस्थाले जनाएको छ ।