☰ open Loading... 20 September 2021|   सोमवार, अशोज ४, २०७८

दबाबमा पत्रकार, मानसिक समस्याको जोखिम बढ्दो
  |

दबाबमा पत्रकार, मानसिक समस्याको जोखिम बढ्दो

 

 

काठमाडौं, ६ साउन । कोरोना महामारीले पत्रकारहरुमा आर्थिक, सामाजिक र पेशागत दबाब सिर्जना भएको छ। यस कारण उनीहरु मानसिक समस्याको जोखिममा छन् ।

 

कोरियाको नामसोल विश्वविद्यालयसंगको सहकार्यमा नेपाल पत्रकार मञ्चले बुधबार आयोजना गरेको ‘कोभिड विरुद्ध खुशी रणनीति’ विषयक शैक्षिक भर्चूअल कार्यक्रमका वक्ताहरुले यस अवस्थालाई सामान्य ठान्न नहुने बताएका छन् । जोखिमपूर्ण घटना र ठाउँमा गएर सूचना, दृश्य र तस्बिरहरु संकलन गर्नुपर्छ ।

 

त्यस्ता ठाउँमा जाँन सामान्य मास्कबाहेक अन्यसुरक्षा सामाग्री हुँदैनन् । आज लगाए पनि भोलिका लागि थप सामाग्री हुँदैनन् । संक्रमणको जोखिमपूर्ण ठाउँमा जानुपर्छ फर्किएर आएपछि परिवारसँगै बस्नुपर्छ । उता पेशाको सुरक्षा पनि छैन । जागिर बचे पनि समयमा पारिश्रमिक प्राप्त गर्ने पत्रकारको संख्या कम छ । किनभने विज्ञापनको बजारमा गिरावट छ । यस्तै समस्या र तनावले राती सुत्दा निन्द्रा लाग्दैन । असहज हुन्छ । खाना खान मन लाग्दैन । भोकले खान बस्यो, थोरै खाएपछि बाँकी खान मन लाग्दैन । शौचालय गइरहन मन लाग्छ । त्यहीँ भित्र बसिरहन मन लाग्छ । शारीरिक हाउभाउमा फरकपन देखिन थालेको छ । विनाकारण धेरै खुशी हुने वा दुःखी हुने हुन्छ । भर्चुअल कार्यक्रममा सहभागीहरुले आफ्नो अवस्था बताएपछि विश्वविद्यालयका प्राध्यापकहरुले ३ महिनासम्म पनि यस्ता लक्षण क्रमशः एउटै मात्रामा रहे भने समस्याको निकारणमा लाग्नुपर्ने बताए ।

 

नामसोल विश्वविद्यालयकी सह—प्राध्यापक डा.युउन सिल किमले ‘कोभिड–१९ एण्ड मेन्टल हेल्थ’ शीर्षकमा प्रस्तुति गर्दै भनिन् — हरेक नराम्रा घटनाहरुको सूचना, तस्विर वा दृश्य लिने पत्रकारहरुमा तुरुन्त मनमा खिन्नता, अपशोच जस्ता भावहरु आउन सक्छन् । कहिलेकाहीँ त पेशामा किन आउँछु भन्ने पनि लाग्न सक्छ ।

 

यो घटनाले ल्याएको संवेग र उनीहरुका लागि जोखिम पनि हो । त्यसैले पत्रकारहरु तनाब, डर, चिन्ता र डिप्रेसनदेखि चाँडै नै मानसिक स्वास्थ्यको गहिरो समस्यामा पर्न सक्छन् । कोविडले हरेक व्यक्तिको उत्पादनशीलतामा ह्रास ल्याएको छ । यसले अग्रपङ्तिमा खटिने पत्रकारहरुमा पनि आर्थिक समस्याहरु बढेका छन् ।

 

अन्तरक्रियामा ‘साइकोलोजिकल इम्प्याक्ट अफ फ्रन्टलाइनर ड्यूरिङ अ प्यान्डामिक’ शीर्षकमा अध्ययनपत्र प्रस्तुत उप—प्राध्यापक डा. सिर्जना थापाले, यसबाट जटिल खालको मानसिक समस्या आउनेतर्फ आजै सोच्नु पर्ने सुझाव दिए। सामान्य अवस्थालाई छिट्टै र औषधिको प्रयोग बिना नै सुधार गर्न सकिन्छ ।

 

त्यसैले अरुले भनेका भरमा औषधि प्रयोग नथाल्न, उनको सुझाव छ । पत्रकारले समाचार तयार पार्ने प्रक्रिया अन्तर्गतका काम गर्ने हो । पहिले हामीले पत्रकारका दायित्वलाई यसरी बुझेका थियौँ । तर यतिले मात्र नपुग्ने भयो । अब समाचार लेख्नेसँगै सञ्चार गृह जोगाउने पनि सोच्नु पर्ने भयो । महामारीले पत्रकारमाथिको दबाबका विषयमा कुरा गर्दै नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले, महामारीकै कारण प्रिन्टबाट डिजिटल पत्रकारितामा गएको र यसले धेरै पत्रकारको रोजीरोटीका सवालमा समस्या भएको उल्लेख गरे । यो पत्रकारहरुका लागि तनाबको विषय हो ।

 

विष्टले, पत्रकारको पेशागत सुरक्षाका लागि नीति पैरवी र नेतृत्व गरिरहने बताए । महामारी सुरु हुँदा खान थिएन, लगाउन थिएन, औषधि थिएन तर सूचना थियो । यो पत्रकारले गरेको योगदान हो । कार्यक्रममा नेपाल टेलिभिजनकी नायव महाप्रबन्धक एवं सञ्चालक समितिकी सदस्य आरती चटौतले, सामान्य अवस्थामा मानिसहरुको ध्यान मनोरञ्जनमा र विपदमा सूचना तिर हुने तथ्यलाई बिर्सन नमिल्ने उल्लेख गरिन् ।

 

गएको ३ बर्षमा करीव १८ हजार व्यक्तिले आत्महत्या गरेको, यसमा पहिलो बर्षभन्दा दोस्रो र तेस्रो बर्षमा बढ्दै गएको अङ्कले व्यक्तिहरुमा मानसिक समस्या बढ्दै गएको प्रमाणित भएको उल्लेख गर्दै यस्ता घटना रोक्न सतर्कता र सचेतामुलक कार्यक्रमको खाँचो देखाइन् । कोभिड महामारीका समयमा कतिपय पत्रकारहरु जागिर गयो । कति पत्रकारहरुले आंशिक रुपमा काम गरे । कतिले आंशिक तलव लिएर पूरा काम गरे । पत्रकारहरुको यो योगदानका कारण कोभिडका विषयमा जनताले सूचित हुने मौका पाएको वक्ताहरुको भनाइ थियो ।

 

प्रेस काउन्सिलले गरेको अध्ययनअनुसार ८३ प्रतिशत पत्रकारले कोभिडको समयमा आफूलाई पेशामा असुरक्षित भएको महसुस गरेको बताएका छन् । ३५ प्रतिशतले तनाब छ । ३८ प्रतिशतको तलब घटाइएको छ। सञ्चार गृहमा काम गर्ने ५० प्रतिशत महिलाले आफूलाई लैङ्गिक असमानता महसुस भएको बताएका छन् । ६२ प्रतिशत महिलाले घर र कार्यालयको तारतम्य मिलाउन कठिन भएको बताएका छन् । ६४ प्रतिशतले जिम्मेवारी बहन गर्न कठिन भएको बताएका छन् भने ७५ प्रतिशत महिलाले तनाब बढेको बताएका छन् । यो अध्ययनपछि देखिएको जटिलता सम्बोधन गर्न कुनै पक्षबाट कुनै खालका कार्यक्रम आएनन् । पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले कोभिड–१९ बाट प्रभावित पत्रकारहरुलाई राज्यले वेवास्ता गरेको आरोप लगाए ।

 

यस्तो जटिल परिस्थितिमा अग्रभागमा क्रियाशील रहेर समाजलाई सुसूचित गर्ने कार्यमा लाग्ने पत्रकारहरुलाई खोप लगाउन समेत अदालतमा मुद्दा हाल्नुपर्ने अवस्था सिर्जना भयो । यो अत्यन्त लाजमर्दाे अवस्था हो ।’ यी सबै समस्या महामारीले सिर्जना गरिदिएका समस्या हुन् । हरेक घटनाले पत्रकारको मानसिक स्वास्थ्यमा कुनै न कुनै प्रकारको असर थपेको छ । तर, यसको समाधानका लागि सरकारतर्फबाट कार्यक्रम र लगानीको सुनिश्चितता छैन ।

 

मञ्चका विश्वविद्यालय सम्बन्ध संयोजक चन्द्रमणि भट्टराई भन्छन्, “आजको शैक्षिक कार्यक्रममा सहभागी कोभिडको संक्रमण भइसकेका पत्रकार र तिनको परिवारको लगत बनाएर उनीहरुका लागि एकल वा समूहगत परामर्शको तयारी गरेको छौं । ”  भर्चुअल कार्यक्रममा उपत्यकासहित वीरगञ्ज, सिराहा, मोराङ्, कास्कीसहित विभिन्न ठाउँबाट १ सय पत्रकारले भाग लिएका थिए।

प्रकाशित मितिः बिहिबार, साउन ७, २०७८     5:56:43 AM