☰ open Loading... 5 May 2024|  

विमानस्थल विस्तारमा सधैं अवरोध
  | ८ श्रावण २०७८, शुक्रबार १८:४७

सुर्खेत- विवादका कारण सुर्खेत विमानस्थल विस्तारको काममा ढिलाइ भएको छ ।कर्णाली प्रदेश सरकारले ०७७ सालको मंसिर अन्तिम साता सुर्खेत विमानस्थललाई ‘एप्रोच लाइट’ सुविधायुक्त विमानस्थलका रूपमा विकास गर्न दीर्घकालीन सोचसहित काम अघि बढाउने निर्णय गरेको थियो । तर उक्त निर्णय अहिलेसम्म कागजमै सीमित देखिएको छ ।

करिब २ अर्ब बराबर रकम लाग्ने अनुमान गरिएको विमानस्थल विस्तार र स्तरोन्नति अन्तर्गत पहिलो चरणमा प्रदेश सरकारले ५० करोड र केन्द्र सरकारले ५१ करोड बजेट छुट्याए ।विमानस्थल विस्तारका लागि संघीय र प्रदेश सरकारबीच गत असोज १५ गते काम अघि बढाउन कर्णाली प्रदेश र नेपाल सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।तर दुई सरकारबीच भएको समझदारीअनुसार विमानस्थल विस्तार कार्य अगाडि बढ्न सकेको छैन ।

स्थानीयको चर्को विरोधपछि विमानस्थल विस्तार कार्यबाट नागरिक उड्डयन कार्यालय र प्रदेश सरकार पछि हटेको छ ।वीरेन्द्रनगर नगरपालिकाले नै आफ्ना नागरिकको प्रतिनिधित्व गर्दै तत्काल विस्तार कार्य अघि नबढाउन माघ ३ गते प्रदेश र केन्द्रमा पत्रसमेत काट्यो । प्रदेश र केन्द्र सरकारले सुर्खेत विमानस्थल विस्तार कार्यका लागि पहल थाले पनि स्थानीयको अवरोधका कारण गत आर्थिक वर्षमा विमानस्थल विस्तारको काम हुन सकेन ।परिणामस्वरुप विमानस्थल विस्तारका लागि केन्द्र र प्रदेश सरकारले छुट्याएको एक अर्ब १ करोडभन्दा बढी रकम फ्रिज भएको छ ।