☰ open Loading... 18 May 2024|  

जेलबाट रेशम चौधरी निर्वाचन आयोग पुग्दा…
  | १२ श्रावण २०७८, मंगलवार ०५:३९

काठमाडौं । निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टीको विवाद छिनोफानो गर्ने प्रक्रियाका लागि कार्यकारिणी समितिमा रहेका सदस्यहरूको सनाखत गर्ने कार्यक्रम थियो । जसपाका एक कार्यकारिणी सदस्य रेशम चौधरी जेलमा थिए ।

आयोगले डिल्लीबजारस्थित चौधरीलाई राखिएको जेलमा नै टोली सनाखतका लागि पठायो । तर, चौधरीले त्यहाँ सनाखत गर्न मानेनन् । र, आयोगले उनलाई कारागार व्यवस्थापन विभागदेखि गृह मन्त्रालयसम्मको स्वीकृति लिँदै कागजी प्रक्रिया पु¥याएर कान्तिपथस्थित कार्यालयमा नै ल्यायो ।

प्रहरीको बाक्लो सुरक्षा घेरामा आयोग ल्याइएका चौधरीलाई सञ्चारकर्मीसहित जसपाका नेताहरूले कुरिरहेका थिए । उनको प्रतीक्षामा पत्रकार मात्र होइन जसपाका शीर्ष नेता पनि थिए । जसपाको ५१ सदस्सीय कार्यकारिणी समितिमा ५० जनाको १ बजेसम्म नै सनाखत सकिएको थियो । चौधरीलाई साढे २ बजे आयोगमा ल्याइयो ।

चौधरीको आयोगमा इन्ट्री भयो । ढाकाटोपीमा कुर्था त्यसमाथि स्टकोट लगाएर चस्मासहित आयोगमा आएका उनी हातमा कागजपत्रको फाइल बोकेर गाडीबाट झरे । प्रहरीले उनलाई आफ्नै घेरामा अघि बढायो । सोही क्रममा जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षका नेताहरूले उनलाई आआफ्नो पक्षमा ल्याउन तानातानको प्रयास नै गरे । त्यसै बखत जसपा नेत्री हिसिला यमीले सोधिन्, ‘तपाईं कुन पक्षमा ?’ चौधरीले जवाफ दिएनन् । उनी पहिला दुवै अध्यक्षसँग कुरा गर्ने भन्दै भित्र पसे ।

दुवै पक्षसँगको संवादपछि चौधरीले आफू तटस्थ बस्ने निर्णय लिए । त्यसपछि पत्रकारहरूसँग आएर चौधरीले आफ्नो मनको गाँठो फुकाए । सो क्रममा उनले आफू न्यायको प्रतीक्षामा जेलभित्र गुम्सेर बसिरहेको बताए ।

राजनीतिक मुद्दाका कारण आफू जेलमा बस्नुपरेको भन्दै उनले भने, ‘मेरो मुद्दामा मेरो पार्टी कत्तिको लडिरहेको छ, त्यो उहाँहरूको दृष्टिकोण होला ।’

उनले आफू राजनीतिक मुद्दाका कारणले जेल बस्नुपरेको भन्दै कवितात्मक शैलीमा न्यायको माग गरे ।

कठघरामा उभिएर जति सत्य बके पनि
न्याय पाऊँ भन्दै हजुर सयौंपटक झुके पनि
निरीह ठान्दा रहेछन् शिर निहुराएपछि
दोषी ठह¥याउँदा रैछन् चुप लागेर बसेपछि
श्रीमान् न्याय देऊ, हामीलाई क्षमा चाहिँदैन
दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन,
एक न्याय, दुई न्याय, तीन न्याय !

उनी कैलालीको टीकापुर काण्डमा दोषी ठहर भएपछि कारागारमा थुनामा रहँदै आइरहेका छन् । सोही कारण उनको प्रतिनिधि सभा सदस्यको पद पनि निलम्बनमा छ । उनले आफूलाई न्याय चाहिएको भन्दै प्रतीक्षारत रहेको भने सुनाइरहे ।

सोही क्रममा जसपाका कार्यकारिणी सदस्य चौधरीले पार्टी अध्यक्ष ठाकुरलाई भीष्म पितामहको संज्ञा पनि दिए । हार्ने निश्चित हुँदाहुँदै पनि ठाकुरले केपी ओलीलाई सघाएको स्मरण गर्दै वास्तवमा उनी भीष्म पितामह भएको टिप्पणी गरे ।

‘महाभारतको युद्धमा भीष्म पितामहलाई थाहा थियो तर पनि उनी दुर्योधनको पक्ष लिएर लडाइँ लड्न बाध्य भए,’ निर्वाचन आयोग परिसरबाट बाहिरिने क्रममा भने, युधिष्ठिर र अर्जुनले युद्ध जित्छन् भन्ने उहाँलाई थाहा थियो तथापि उहाँ दुर्योधनको पक्षमा उभिनुभयो ।’

उनले आफ्ना लागि पक्ष र विपक्ष दुवै जसपा पार्टी भएकाले तटस्थ बस्ने निर्णय लिएको उनको प्रतिक्रिया थियो । ‘आज जेलबाट यस निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन,’ उनले भने, ‘मेरा लागि पक्ष जसपा हो, विपक्ष पनि जसपा हो, म जसपाको एउटा कार्यकर्ता हुँ ।’

जसपामा ५१ सदस्यीय कार्यकारिणी समिति छ । त्यसमध्ये ३४ जनाले उपेन्द्र यादव पक्षमा सनाखत गरेको आयोगले फैसला सुनायो । सनाखतपछि आएको फैसलाअनुसार १६ जना भने महन्थ ठाकुर पक्षमा उभिएका छन् ।राजधानी दैनिकबाट