☰ open Loading... 18 May 2024|  

हराएका बालबालिकाको भारतबाट उद्धार
  | १२ श्रावण २०७८, मंगलवार ०५:४२

बाँके -बाँकेको कोहलपुरबाट ६ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका– ४ का ती बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट स्वदेश ल्याइएको हो । कोहलपुर–४ का वडाध्यक्ष तीर्थराम थारुका अनुसार उद्धार गरिएका बालबालिकामा ११ वर्षीय रोशन वादी, सात वर्षीय विशाल वादी र पाँच वर्षीया पूजा वादी छन् । रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’ नामक संस्थाका समन्वयमा उद्धार गरिएका ती बालबालिकालाई सोमबार परिवारको जिम्मा लगाइएको छ ।

 

भारतको बरेलीस्थित नारी निकेतन अनाथ आश्रममा रहेका उनीहरुलाई आवश्यक कागजातको प्रमाण जुटाएर फिर्ता ल्याइएको हो । उनीहरुसँगै बैतडीका १ र दाङका १ गरी थप दुई बालक पनि सोही बालगृहमा राखिएको वडाध्यक्ष थारुले जानकारी दिए । छ महिनाअघि कोहलपुरबाट हराएका बालबालिका नेपालगञ्जस्थित जमुनाह नाकाहुँदै रुपैडिहमा पुगेका जनाइएको छ । त्यहाँबाट भारतीय ट्रकमा बसेर बरेली पुगेका हुन् ।

 

बरेली पुग्नु भन्दा दुई÷तीन किलोमिटर वरै ट्रकले बालबालिकालाई झारिदिएपछि अलपत्र अवस्थामा सडकमा हिँडिरहेका उनीहरुलाई भारतीय प्रहरीले उद्धार गरेर स्थानीय संरक्षण संस्थाको जिम्मा लगाएको थियो । नेपालगञ्जस्थित जमुनाह नाकाहुँदै भारत गएर बालबालिका अलपत्र पर्ने गरेका छन् । माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले साथीका लहलहैमा घर छोडेर हिँडेका बालबालिका जोखिमपूर्ण यात्रा गरी भारतका विभिन्न शहरमा अलपत्र पर्ने गरेका बताए ।