☰ open Loading... 19 November 2024|  

राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै कर्णाली
  | २२ भाद्र २०७८, मंगलवार ०६:०३

 

कर्णाली प्रदेशका सबै जिल्ला विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडिन थालेका छन् । कालीकोट र जुम्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै साविकको कर्णालीका जिल्ला पनि विद्युतको पहुँचमा पुग्न थालेका हुन । प्रदेशका १० जिल्लामध्ये सात जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । बाँकी तीन जिल्ला हुम्ला, मुगु र डोल्पामा पनि लाइन विस्तारको काम अघि बढेका छन् । नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय कर्णाली प्रदेशका अनुसार सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुमपश्चिम, कालीकोट र जुम्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । हुम्ला, मुगुु र डोल्पामा ३३÷११ केभीए सव–स्टेशन र ३३ केभीए लाइन बन्दै छन् । सबै जिल्लाका राष्ट्रिय प्रसारण लाइन नपुगेको ठाउँमा ११ केभीए लाइन, एलटी लाइन र ट्रान्सफर्मर बन्दै छन् । प्रसारणलाइन पुगिसकेका अरु जिल्लाका ग्रामीण भेगमा पनि ११ र ३३ केभीएका प्रशारण लाइन निर्माणको कामहरू धमाधम भइरहेको कार्यालयले जनाएको छ ।

यसैबिच कर्णालीका सातवटा जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि विद्युत उपभोग गर्नेहरूको संख्या बढेको छ । राष्टिय प्रसारण लाइनका साथ साथै साना जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत उपयोग गर्ने घरधुरीको संख्या प्रदेशमा हालसम्म ४३ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । कार्यालयका प्रमुख सुरेन्द्र अग्रहरीले ४३ दशमलव ८७ प्रतिशत घरधुरी विद्युतको पहुँचमा पुगेको बताउनुभयो । कार्यालयले दिएको जानकारी अनुसार रुकुमपश्चिममा ७५ दशमलव दुई प्रतिशत, सल्यानमा ५२ दशमलव ८८ प्रतिशत र सुर्खेतमा ४८ दशमलव १६ प्रतिशत घरधुरी विद्युतको पहुँचमा पुगेका छन् । यस्तै दैलेखमा ४८ दशमलव ७३ प्रतिशत, जाजरकोटमा १६ दशमलव १५, डोल्पामा २१ दशमलव नौ प्रतिशतले र जुम्लामा १९ दशमलव तीन प्रतिशत घरधुरी विद्युतको पहुँचमा पुगेका हुन् । कालीकोटमा ४३ दशमलव ५७ प्रतिशत, मुगुमा १९ दशमलव ६४ प्रतिशत र हुम्लामा २९ दशमलव ६९ प्रतिशत घरधुरी विद्युतको पहुँचमा पुगेका हुन् ।