☰ open Loading... 21 May 2024|  

कर्णालीका नौ जिल्लामा चाडपर्व लक्षित पसल सञ्चालन
  | ५ आश्विन २०७८, मंगलवार ०५:४०

कर्णाली प्रदेशमा चाडपर्व लक्षित सहुलियत पसल खुलेका छन् । दसैं, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सरकारले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो । कर्णालीका सल्यानबाहेक नौ जिल्लामा सहुलियत मूल्य पसल सञ्चालनमा आएका छन् । हरेक वर्ष चाडवाडको बेला सरकारी कम्पनीमार्फत सुपथ मूल्यका पसल सञ्चालन गरिँदै आएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले असोज १ देखि खाद्य सामग्रीको बिक्री थालेको छ । वीरेन्द्रनगर–६ स्थित कार्यालय हाताभित्रै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो । कम्पनीका अनुसार यो वर्ष चामल र दाल मात्र बिक्री–वितरण गरिएको छ ।

कम्पनीका प्रादेशिक कार्यालयका लेखा सहायक विनोद पौडेलले यो वर्ष बिक्री केन्द्रहरूमा चामल र दालमा उपभोक्तालाई प्रति केजी पाँच रूपैयाँ छुट दिइएको जनाए । उनका अनुसार एक जना उपभोक्ताले अधिकतम एक क्वीन्टल चामल खरिद गर्न पाउने छन् । यहाँ किन्दा बजारको तुलनामा चामल प्रति क्वीन्टल पाँच सयका दरले सस्तो पर्ने पौडेलले बताए ।

कम्पनीले यो पटक तीन–तीन किसिमका चामल र दाल बिक्री गरिरहेको छ । अरुवा मोटा, अरुवा सोना मन्सुली र स्टिम जिरा मसिनो चामल हुन भने दालमा अरहर, मास र मसुरो बिक्रीका लागि राखिएको छ । कम्पनीले यसअघि अरुवा मोटा चामल प्रति क्वीन्टल चार हजार ६ सय रूपैयाँमा बिक्री गर्दै आएको थियो । चाडपर्वलाई लक्षित गरी पाँच सय रूपैयाँ छुट दिइएको हो । उक्त चामल अहिले चार हजार एक सयमा बिक्री गरिएको छ ।

त्यस्तै, अरुवा सोना मन्सुली चामल चार हजार नौ सय ७० रूपैयाँमा बिक्री हुँदै आएकोमा यसमा पनि पाँच सय रूपैयाँ छुट दिइएको छ । यसैगरी ६ हजार चार सय पर्ने स्टिम मसिनो जिरा चामल सुपथ पसलबाट पाँच हजार नौ सयमा पाइने गरेको हो । चामल २५ र ३० तथा दाल दुई केजीमा प्याकिङ गरिएको छ । प्रादेशिक कार्यालय सुर्खेतमा हाल १३ हजार क्वीन्टल चामल र ४० क्वीन्टल दाल मौज्दात रहेको छ ।

कम्पनीले गत वर्षदेखि अनलाइनमार्फत गरिएको अर्डरका आधारमा पनि डेलिभरी सेवा दिने गरेको छ । कोरोना महामारीका कारण भिडभाड नहोस् भनेर सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट अनलाइनमार्फत खाद्य सामान खरिद गर्नसक्ने व्यवस्था गरेको हो । उपभोक्ताले खाद्य वस्तु घरमै मगाउँदा पनि कम्पनीले तोकेकै मूल्यमा पाउने व्यवस्था मिलाएको छ । डेलिभरी शुल्क नलिने गरिएको हो । त्यसका लागि उपभोक्ताले भने अलि धेरै परिमाणमा अर्डर गर्नुपर्ने हुन्छ । अनलाइनबाट आएका अर्डर अनुसार घरमै सामान पु¥याउने गरिएको कार्यालयले जनाएको छ । सामान खरिद गर्न उपभोक्ताले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वेबसाइडमा अर्डर गर्न सकिन्छ ।

सहुलियत मूल्य पसलमा उपभोक्ताको आर्कषण रहेको कम्पनीको दावी छ । गत वर्ष कम्पनीले वीरेन्द्रनगरमा खोलेको बिक्री केन्द्रबाट दुई हजार नौ सय सय जना उपझोक्ताले सामान खरिद गरेका थिए । गत वर्ष कर्णालीका स्थानीय उत्पादन समेत बिक्रीका लागि राखिएको थियो । कम्पनीले यो पटक भने सिमी, मार्सी चामललगायतका खाद्य वस्तु नराखेको हो । यसपटक कर्णालीका अर्गानिक खाद्य वस्तु उपलब्ध गराउन नसकिएको प्रादेशिक कार्यालयका लेखा सहायक पौडेलले बताए । कार्यालयका अनुसार बिक्री, चलानी, अनुदान गरेर अघिल्लो वर्ष ५४ हजार क्वीन्टल चामल र ४५ क्वीन्टल कर्णालीको सिमी बिक्री वितरण भएको थियो । पहाडको उत्पादन तराईमा र त्यहाँ भएको उत्पादन पहाडमा तथा एक क्षेत्रमा उत्पादन भएको वस्तुलाई अर्को क्षेत्रमा वितरण गर्ने गरी कम्पनीले काम गरिरहेको जनाएको छ ।

कम्पनीले यसपालि पनि मार्सी चामल बिक्री गर्ने योजना बनाएको थियो । तर, दुुई सय क्वीन्टल मार्सी खरिदका लागि टेन्डर आह्वान गरे पनि कसैको ठेक्का नपरेपछि टेन्डर नै रद्द गरिएको हो । कर्णालीमा उत्पादित मार्सी भण्डारणमा समस्याका कारण पर्याप्त मात्रामा चामल उपलब्ध नहुँदा टेन्डर नै खारेज गर्नुपरेको जनाइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपझोक्तालाई सिधै मात्र नभइ सहकारीमार्फत पनि ६ देखि ७ प्रतिशत छुटमा खाद्य वस्तु बिक्री गर्ने गरेको छ । कम्पनीबाट खरिद गरेर सहकारीले सोही मूल्यमा उपभोक्तालाई बिक्री वितरण गर्नुपर्ने हुन्छ ।

सुपथ मूल्य पसल सञ्चालन भएपछि उपभोक्तालाई राहत भएको छ । वीरेन्द्रनगर–२ की कल्पना भण्डारीले बजारमा उपलब्ध हुने खाद्य सामग्रीभन्दा सहुलियत पसलमा खरिद गर्दा प्रति केजी दुई–चार रूपैयाँ भए पनि सस्तो पर्ने बताइन् ।