☰ open Loading... 5 May 2024|  

नगरपालिका रमिते हुँदा बसपार्क सुनसान
  | ५ मंसिर २०७८, आईतवार १९:२२

ठोस निर्णय लिन नसक्दा नगरपालिकामा सवारी साधनहरु पार्किङ्ग अस्तवेस्त बनेको छ। बनेको बसपार्क समेत नगरपालिकाले प्रयोगमा ल्याएको छैन। स्थानीयका अनुसार नगरप्रमुख रत्नबहादुर खड्का केही व्यापारी र व्यवसायीको प्रलोभनमा मुल सडकमै बसपार्क बनाईदाँ समेत रमिते भएका हुन्। मेयरको घर मुल सडकमा बनाइएको बसपार्क नजिकै हो। ‘मेयर त्यही बाटो भएर दिनहुँ हिँड्छन् तर, सडकभरि गाडी नदेखेझै गर्छन्,’ स्थानीय जगत बुढाले भने, ‘जसका कारण बसपार्कमा सञ्चालनमा वास्ता गर्दैनन्।’बस समितिको सुविधाको लागि छुट काउन्टर बनाएर प्रहरी कार्यालय पछाडीको मुल सडकलाई बसपार्कका रुपमा प्रयोग गरिदाँ काँडाचौर बसपार्क सुनसान बनेको हो।

बसपार्क रहेको वडा अध्यक्षदेखि मेयरसम्म बसपार्क सञ्चालनमा बेवास्ता गरेका कारण बसहरु आफूखुसी चोकचोकमा रोकिन थालेको स्थानीयहरु बताउँछन्। नियमित आउने जाने यात्रुवाहक सवारी साधनहरु अहिले समितिको दादागिरिकै कारण काँडाचौर बसपार्कमा नगई मुल सडकमा साँगुरो गरेर पार्किङ्ग गर्ने गरेको स्थानीयले गुनासो गरे।

अहिले बजारका चोक चोकमा पार्किङ्ग स्थल बनाइएका कारण अन्य सवारी साधन आवागमनमा बाधा पुग्ने गरेको छ। ‘बसपार्कमै गाडी जान र टिकट काट्नका लागि पूर्वाधार समेत बनाइएको भएपनि छुट काउन्टरलाई बसपार्क बनाएको छ,’ नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले भने, ‘जिल्ला प्रशासन, प्रहरी कार्यालयसँग नगरपालिकाले समन्वय गरेर बसपार्कमा बस राखिनेछ।’

नगरपालिकाको कुनै भिजन नै नभएकाले सडकमै बसपार्क भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए। नगर गुरुयोजनामा बसपार्कको २०५८ सालबाट निर्माण सुरु गरी ६६ सालमा निर्माण सम्पन्न गरिएको थियो।