☰ open Loading... 3 May 2024|  

एक सातादेखि गाउँ अन्धकार
  | ८ मंसिर २०७८, बुधबार ०५:२१

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका ५ कुम्डीमा रहेको नौमुले लघु जलविद्युत आयोजनाको मेसिन बिग्रिँदा चार गाउँ अन्धकार भएका छन् । गएको मङ्गलवार दिउँसो १ बजेदेखि विद्युत् गृहमा समस्या आउँदा उक्त वडाका चार गाउँ अन्धकार भएका भएका हुन् । नौमुले लघु जल विद्युतगृहमा जडान गरिएको फित्ता एक्कासि चुँडिएपछि विद्युत् उत्पादन बन्द हुँदा चार गाउँ अन्धकार भएको व्यवस्थापक गणेशराज गिरीले जानकारी दिए ।

विगत एक हप्तादेखि उपभोक्ताहरू अँध्यारोमा बस्न बाध्य भएका छन् । गुठिचौर गाउँपालिका वडा नम्बर ५ भित्रका कुम्डी, फोई, देपालगाउँ र धिता गाउँका उपभोक्ता अँध्यारोमा बस्न बाध्य भएका हुन । विद्युत् सप्लाइ गर्न अझै १ हप्ता लाग्ने गिरीले बताए ।

फित्ता बाहिर बाट ल्याउनु पर्ने भएकोले पहल भइरहेको छ । उहाँले भन्नुभयो,“विद्युतको फित्ता आउने बित्तिकै सुचारु हुन्छ । गुठिचौर ५ नम्बर वडाका करिब ५ सय ५० घरधुरीका उपभोक्ताहरू अँध्यारोमा बस्न बाध्य छन् । हामी चाडै बत्ती बाल्ने गरी पहलमा जुटेका छौ केही दिन यताबाट उपभोक्ताहरूले अन्य वैकल्पिक सोलार, टुकीमारा र स्थानीय वनजंगलमा पाइने झरो बाली उज्यालो गर्नु परेको छ ।”

फित्ता भारतबाट ल्याउनु पर्ने भएकोले आउन समय लाग्ने देखिएको छ । गुणस्तरीयताको फित्ता ल्याउनुपर्ने स्थानीयको माग छ । विद्युत् अवरोध भएपछि स्थानीयहरूलाई मोबाइल चार्ज गर्न, विद्यार्थीहरूलाई पढ्न,सरकारी कार्यालय,गैरसरकारी निकायहरूका कामकाज प्रभावित भएका छन् । भने रेडियो गुठिचौर तथा मिलहरू सञ्चालनमा समेत समस्या आएको गुठिचौर रेडियोका सञ्चारकर्मी रामप्रकाश विकले बताए ।