☰ open Loading... 3 May 2024|  

अदुवाले मूल्य नपाएपछि सल्यानका किसान चिन्तित
  | २ पुष २०७८, शुक्रबार ०५:२३

सल्यान : सल्यानको प्रमुख नगदेबालीको रुपमा रहेको अदुवाले मूल्य नपाएपछि किसान चिन्तित बनेका छन्।वर्षेनी अदुवाको मूल्य ओरालो लागेपछि किसान झनै मारमा परेका छन्। गत वर्ष ५० रुपैयाँ किलोसम्म बिक्री गरेका किसानहरु यस वर्ष भने ३० रुपैयाँ किलो कारोबार भएपछि मारमा परेका हुन्।

अदुवाको मूल्य लगातार घट्दै जाँदा व्यावसायिक अदुवा खेती गर्ने किसानहरुको संख्या घट्दै गएको शारदा नगरपालिका– ७ रामेखोलाका किसान कृष्ण बुढाथोकीले बताए।

 

उनले भने, ‘अदुवा खेती पनि के आशले गर्नु बीउ, मल, ज्याला जोड्दा उल्टो घाटा हुन्छ। ३ हजार रुपैयाँ क्विन्टल बिक्री गरेर लगानी नै उठ्दैन।’ बारीमा कुहिनुभन्दा उधारोमा नै भएपनि ३ हजार रुपैयाँ क्विन्टल बिक्री गरेको अर्का किसान कमल गिरीले बताए।

७ क्विन्टल अदुवा ३ हजार रुपैयाँ क्विन्टल बिक्री गर्नु पर्ने बाध्यता भएको उनको भनाई छ। अदुवा बिक्रीमा गिरावट आएपछि किसानको लगानी डुब्ने अवस्था आएको उनको भनाई छ।

 

अदुवाको मूल्य घटेपछि यस वर्ष लगानी नै डुब्ने खतरा भएको हरिमान पुनले बताए। उनले भने, ‘८ हजार रुपैयाँ क्विन्टल किनेर रोपेको बीउको मोलसमेत यो वर्ष नउठ्ने भयो।’सल्यानमा १ हजार ७ सय २० हेक्टरमा २५ हजार ९ सय ७२ मेट्रिक टन अदुवा उत्पादन हुँदै आइरहेको कृषि विकास कार्यालयको तथ्यांकले देखाउँछ।