☰ open Loading... 30 April 2024|  

जागिर छाडेर व्यापारमा
  | १४ माघ २०७८, शुक्रबार ०५:२६

कालीकोट — नरहरिनाथ–५ रुप्साका वीरेन्द्रबहादुर सहकारीले नेपाली सेनाको जागिर छाडेर व्यापारमा लागेको ५ वर्षमै सफल व्यवसायीको परिचय बनाएका छन् । उनले नरहरिनाथ–३ कुमालगाउँमा सञ्चालन गरेको खाद्य, खुद्रा तथा फेन्सी पसलबाट दैनिक ५० हजार रुपैयाँको व्यापार हुन्छ ।

 

‘मलाई त सेनाको जागिर समय पास गर्ने मेला मात्र बन्यो,’ उनले भने, ‘घरपरिवारभन्दा जागिर ठूलो होइनजस्तो लागेर जागिर छाडे ।’गाउँमा सञ्चालन गरिएको उनको पसलबाट रुप्सा, अदेला, माल्कोट, लालु, कुमालगाउँलगायतका गाउँका स्थानीयले सामान खरिद गर्न आउँछन् । पसलमा नुन, तेल, दाल, चामल, मैदा, चिनी, चियापत्ती, साबुन, स्टेसनरी र सबै खालका फेन्सी कपडा उपलब्ध छ । उनले अन्य पसलभन्दा सस्तो दिने भएकाले त्यही भीड लाग्ने गरेको स्थानीय जयाकुमारी बोगटीले बताइन् ।

गाउँपालिकाको केन्द्रमा स्थापना भएको सहकारीको पसलमा गत शुक्रवार नरहरिनाथ–४ अदेलाकी ३७ वर्षीया जमुना बोगटी डोकामा १८ माना घ्यू र ५ पाथी सिमी बोकेर बिहान ८ बजे पुगिन् । घ्यू प्रतिमाना २ सय र सिमी प्रतिकिलो १ सय ६० रुपैयाँमा बिक्री गरेकी उनले घरका लागि चामल, चिनी, नुन, साबुनलगायत सामान खरिद गरिन् । ‘आजबेली (आजभोलि) त घरैथी (घरनजिकै) हाट छ, मैथ हड्नु पड्डैन (धेरै हिँड्नु पर्दैन) ।’

कुनै बेला दैनिक उपभोग्य सामान खरिद गर्न कैलालीको चिसापानीसम्म पुगेकी उनले भनिन्, ‘सडकसँगै बजार पनि गाउँ सर्दै आयो ।’घरमा उत्पादन गरेको घ्यू बोकेर घरपरिवारका लागि वर्षभरि पुग्ने लत्ताकपडा, नुन, तेलको चाँजोपाँजो गर्ने यहाँका स्थानीय गाउँमा बजार बनेकोमा दंग छन् ।

३५ वर्षअघि पहिलोपटक ८ धार्नी (४० माना) घ्यू बोकेर १८ दिनको पैदल हिँडेर कैलालीको चिसापानी हाटबजार पुगेको सुनाउँदै कोटवाडा–१ सोत्तरगाउँकी ७१ वर्षीया मन्दरा विष्टले भनिन्, ‘क्षति दुःख त भनिसाध्य छैन, अचेल त घरमै हाटबजार पुग्यो ।’

सडक पहुँच विस्तारसँगै महिनौं भारी बोकेर हाटबजार गर्नुपर्ने दूरदराजका बासिन्दाले घर छेउमा बजार बनेपछि दैनिकीमा समेत फेरबदल भएको बताए । ‘पहिले त हिउँदमा कम्तीमा ३५ दिन पैदल हिँडेर हाट जानुपर्थ्यो,’ नरहरिनाथ–४ का वडाध्यक्ष नरबहादुर सहकारीले भने, ‘अचेल सदरमुकामकै मूल्यमा गाउँमै सामान किन्न पाइन्छ ।’

दैलेखको टुनीबगर, कालीकोटको जिते हुँदै एक वर्षदेखि नरहरिनाथ–३ डाँडामाडुमा होलसेल पसल सञ्चालन गर्दै आएका उमेश जनरल स्टोर्सका सञ्चालक रतनबहादुर सहकारीले गाउँमै दैनिक १ लाखको कारोबार गर्छन् ।

सहकारीको डाँडाखला, जिते र डाँडामाडु गरी ३ ठाउँमा पसल छ । उनले स्थानीयले उत्पादन गरेको कृषि उपज बजार पठाउने र बजारका दैनिक उपभोग्य सामान दाल, चामल, नुन, तेल, चिनी, मैदा, साबुन, पेयपदार्थ, लत्ताकपडा गाउँको पसलबाट बेच्छन् ।

कर्णाली राजमार्ग सञ्चालनमा आउनुअघिसम्म कालीकोटको कर्णाली भेगका १७ गाविस र अहिलेका ५ वटा स्थानीय तहहरू रास्कोट, सान्नीत्रिवेणी, नरहरिनाथ, पचालझरना र पलाताका बासिन्दाले गाउँमै सस्तो मूल्यमा सामान किन्न पाएका छन् ।

घरनजिकै ग्रामीण सडक पुगेसँगै बजार पनि गाउँमै पुगेका छन् । जसले स्थानीयको दैनिकी सहज मात्र भएको छैन, समय पनि बचत भएको छ ।

कर्णालीमा वस्तु विनिमयको अभ्यास भए पनि पछिल्लो समयमा सहयोगी भावना हराउँदै गएकोमा स्थानीय चिन्तित छन् । ‘पहिले त हुनेले नहुनेलाई सहयोग गर्ने चलन थियो,’ रकु लुयाटाका विशाखर देवकोटाले भने, ‘अचेल छरछिमेकले सहयोग गर्लान् भन्ने त नचिताए पनि भयो ।’कान्तिपुरबाट