☰ open Loading... 30 April 2024|  

विद्युत् अवरुद्ध हुँदा सल्लाकाे दियालोको भर याङगुबासी
  | १४ माघ २०७८, शुक्रबार ०५:४२

विद्युत् अवरुद्ध हुँदा सल्लाकाे दियालोको भर याङगुबासी

 

हुम्ला : हुम्लाकाे याङगु गाउँमा एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमय भएकाे छ ।हुम्लाको सिमकोट गाउँपालिका–८ का बासिन्दाले  हप्तादिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा दिन कटाउँदै आउनुपरेको हो ।

 

विद्युत् सेवा अवरुद्ध हुँदा रातिको समयमा आफूहरूले सल्लाको दियालोको भरमा रात कटाउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रबाट वितरित लाइनमा समस्या आएपछि विद्युत प्रवाह हुन सकेको छैन । विद्युत् केन्द्रबाट विस्तार गरिएका दुईवटा लाइनमध्ये एउटा लाइनले काम गरे पनि अर्को लाइन एक हप्तादेखि बन्द हुँदा  उज्यालोबाट वञ्चित हुनुपरेको सोही गाउँका हर्कवीर शाहीले बताए ।

 

करिब ६० घरधुरी भएको उक्त गाउँमा हाल १५ घरधुरीले विद्युत् उपभोग गर्न पाएका छन् भने अन्य ४५ घरधुरी  अन्धकारमा बस्न बाध्य भएको उनले जानकारी दिए । विद्युत् आपूर्ति नभएको करिब एक हप्ता भइसक्दा पनि प्राधिकरणको हेल्दुङ वितरण केन्द्रले वास्ता नगरेको हर्कवीरको गुनासो थियो ।

 

पटक–पटक विद्युत् वितरण केन्द्रमा मर्मतका लागि आग्रह गर्दासमेत मागको सुनुवाइ नहुँदा स्थानीयवासीले सल्लाको दियालो बाल्न बाध्य भएको उनको भनाइ छ ।