☰ open Loading... 30 April 2024|  

काँक्रेविहारमा फेरि नक्साङ्कन गरिँदै
  | १५ माघ २०७८, शनिबार ०५:२०

नेपालको एक मात्र संरक्षित वन काँक्रेविहार संरक्षित वन क्षेत्रको पुनः नक्सांकन गर्ने तयारी गरिएको छ। वन क्षेत्रको भूभाग अतिक्रमणमा पर्न थालेको भन्दै जिल्ला वन क्षेत्र समन्वय समितिले काँक्रेविहार वन क्षेत्रको पुनः नक्सांकन गर्ने निर्णय गरेको हो। पुनः नक्सांकनका लागि पाँच सदस्य प्राविधिक टोली पनि गठन गरिएको छ। समितिमा डिभिजन वन कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र वीरेन्द्रनगर नगरपालिका प्राविधिकहरु रहनेछन्।

कार्यको नेतृत्व डिभिजन वन कार्यालय सुर्खेतले गर्नेछ। डिजिजनल वन अधिकृत मुनबहादुर रावतले समितिमा रहने प्राविधिकहरु तोक्ने काम भइरहेको जानकारी दिदैं त्यसपछि बैठक बसी कहिलेदेखि पुनः नक्साँकन गर्ने भन्ने निर्णय गरिने बताउनुभयो। उहाँले काम सुरुमा दुई देखि तीन हप्ताभित्र काँक्रेविहार क्षेत्रको नक्साँकनको काम सकिने जानकारी दिनुभयो। यसपटक अत्याधुनिक उपकरणबाट काँक्रेविहार वन क्षेत्रको नक्साँकन गरिने उहाँको भनाइ छ।

काँक्रेविहार वन क्षेत्र भूमाफियाबाट अतिक्रमण भएको भन्दै उच्च अदालतमा रिट पर्दा अदालतले पुनः नक्साँकन गर्न अन्तरिम आदेश दिएको थियो। डिभिजनल वन अधिकृत रावतले समिति गठनले अदालतको आदेशलाई पनि पालना गरेको र सम्भवतः आगामी फागुन महिनाभित्र नक्साँकनको काम सकिने जानकारी दिनुभयो। राजपत्रमा काँक्रेविहार संरक्षित वन क्षेत्रको क्षेत्रफल १७५.५ हेक्टर रहेको छ भने नापीको नक्सामा १६७ हेक्टर छ। अव पुनः नक्साँकन गरिएपछि कति क्षेत्रफल रहेछ भन्ने एकीन हुने रावतको भनाइ छ । यता काँक्रेविहारको संरक्षण तथा विकासका लागि डिभिजन वन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाले छुट्टाछुट्टै रकम बिनियोजन गरेका छन। डिभिजन वनले ५० लाख र वीरेन्द्रनगर नगरपालिकाले तीन करोड बजेट छुट्याएको छ। यस्तै डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत रावतले वनले गर्ने कामका लागि रकम बिनियोजन भइसकेको हुँदा अव काँक्रेविहार संरक्षण तथा विकासको काम सुरु गरिने बताउनुभयो। काँक्रेविहार संरक्षण वन क्षेत्र व्यवस्थापन कार्ययोजना पुनरावलोकन, सीमांकन तथा नाप नक्सा अध्यावधि र प्रचारप्रसारका लागि यस वर्ष वन कार्यालयले ५० लाख रकम खर्च डिभिजन वनले गर्नेछ ।

उता वीरेन्द्रनगर नगरपालिकाले भने काँक्रेविहारको विकास कार्यक्रम भन्दै तीन करोड बजेट छुट्याएको छ। जसमा जंगल सफारी, मिनी चिडियाखाना, पदमार्ग, जरायो गणना तथा बासस्थान अध्ययनलगायतको कामहरु गरिनेछ। जंगल सफारीको लागि रिङ रोड ग्राभेलिङका लागि दुई करोड, पानी बोरिङ, जरायो पोखरी निर्माण तथा पानी वतरणमा २५ लाख, काँक्रेविहार भग्नावशेष वरिपरि एकतर्फी स्लेट पत्थरसहितको पदमार्ग निर्माणमा २५ लाख र बन्यजन्तु बासस्थान सुधार तथा उद्धार केन्द्र र मिनी चिडियाखाना स्थापना तथा संचालन गर्न विस्तृत परियोजना प्रतिवेदनका लागि १५ लाख बजेट छुट्याइएको छ। यसैगरी जरायो गणना र बासस्थान अध्ययनका लागि पाँच लाख, काँक्रेविहार रिङरोड, सडक दायाँबायाँमा सौन्दर्य प्रर्वद्धन गर्न १५ लाख र पिक्निक स्थल, खानेपानी सुधार तथा फोहोर व्यवस्थापनमा १५ लाख बजेट छुट्याइएको छ। जिल्ला वन कार्यालयका डिभिजनल वन अधिृत रावतले नगरपालिकाले गर्ने भनेको विकासको कामका लागि बजेट आइ नपुगेको भन्दै वन कार्यालयबाट गर्ने काम भने तत्काल सुरु हुने बताउनुभयो।