जुम्ला : जुम्लाको सिँजा गाउँपालिकाका महिलाहरु सेनेटरी प्याड निर्माणमा जुटेका छन् ।गाउँपालिकाका अधिकांश महिलाहरुले महिनावारी हुँदा सेनेटरी प्याड किनेर प्रयोग गर्न सक्ने अवस्था नभएपछि स्थानीय स्रोत साधनबाट आफ्नै अनुकुलताको सेनेटरी प्याड बनाउन थालेको स्थानीयवासी लक्ष्मी घर्तीले बताइन् ।
बजारदेखि खरिद गरेर ल्याएकाे प्याडभन्दा पनि गाउँमै आफैले बनाएको प्याड प्रभावकारी भएको स्थानीय महिलाहरु बताउँछन् । “पहिले प्याडको प्रयोग गर्नेबारे जानकारी नहुँदा महिनावारी हुँदा समस्या हुने गरेको थियो । अहिले आफ्नै घरमा रहेको साधनस्रोतको प्रयोग गरेर प्याड बनाउन सिकेका छौं,” स्थानीयवासी जमुना चौलागाईंले भनिन्, “प्याड किन्नु पर्दैन, बरु कहीँकतैबाट माग आएको खण्डमा प्याड बनाएर बेच्न सक्नेसम्मको भएको छ ।”
प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र पेस नेपालको साझेदारीमा सञ्चालित खानेपानी सरसरफाइ स्वच्छता उत्थानशील परियोजनाअन्तर्गत दुईदिने प्याड बनाउने तालिम लिएपछि सिँजाका महिला प्याड किन्नकै लागि मेडिकल र स्वास्थ्य संस्थामा धाउन नपरेको सिञ्जाका महिला बताउँछन् । समुदायमा रहेका महिलामा आफ्नै घरमा सियोले बुनेर सेनेटरी प्याड बनाउन सक्ने सीपमूलक तालिम दिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए ।