☰ open Loading... 21 May 2024|  

प्रदेश सांसद्को प्रश्न : चीनले हुम्लामा सीमा मिचेको प्रतिवेदन किन गोप्य राखियो ?
  | २७ माघ २०७८, बिहीबार ०८:१८

sharethis sharing button

फाइल तस्विर

नेपाल सरकारले चीनमाथि आफ्नो सीमा मिचेको आरोप लगाएको एक गोप्य दस्तावेजलाई उद्धृत गर्दै मंगलबार बीबीसीले समाचार प्रकाशित गरेको विषयले कर्णाली प्रदेश सभामा प्रवेश पाएको छ।

हुम्लाबाट निर्वाचित प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री दल रावलले बुधबार प्रदेशसभामा सीमा विवादबारे बोलेका थिए । ‘चीनले हुम्लामा सीमा मिचेको नेपालले पहिलोपटक आधिकारिक रूपमा स्वीकार गरेको समाचार छ,’  पूर्व मन्त्री रावलले भने,‘ सीमा विवाद सम्बन्धी ०७३ सालमा बनाएको समितिले सीमा मिचिएको छैन भनेको थियो । तर अहिलेको समितिले सीमामा समस्या छ भन्ने कुरा उल्लेख गरेको छ ।’

रावलले बुधबार प्रकाशित रिपोर्टमा विशेष गरी किट क्षेत्रमा नहर बनाएको र पछि त्यहाँ नेपाल प्रहरीले निगरानी बढाएपछि नहर भत्काइएको कुरा उल्लेख भएको बताए । साथै रावलले अहिलेको समितिले तयार पारेको प्रतिवेदन सरकारले गोप्य राखेकाले त्यसलाई सार्वजनिक गरिनुपर्ने माग गरेका थिए । उनले भने,‘ समितिले निकालेको प्रतिवेदन गोप्य राख्नका लागि किन बनाइएको ? संघीय सरकारले कर्णालीवासी अझ, हुम्लावासीले थाहा पाउने गरी सार्वजनिक गरियोस् ..!’

रावलले यदि समस्या भएको खण्डमा मित्र राष्ट्र चीनसँग कूटनीतिक पहल गरेर समाधान गर्न पनि सरकारलाई आग्रह गरेका छन् । हुम्ला सीमा विवादको विषय कर्णाली प्रदेश सभामा प्रवेश पाएको  यो पहिलो पटक हो । यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीले सीमा विवादबारे आवाज उठाउँदै आएका थिए। मंगलबार बीबीसीमा प्रकाशित रिपोर्टमा नेपाल र चीनबीच उत्तरमा १ हजार ४०० किलोमिटर लामो सीमा रहेको उल्लेख छ । नेपालस्थित चिनियाँ दूतावासले भने नेपालको सीमा नमिचेको बताउँदै आएको छ ।  गोप्य रिपोर्ट सार्वजनिक भएपछि सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छिमेकीसँग सीमाबारे समस्या कूटनीतिकरुपमा समाधान गरिने बताएको  छन् । उक्त रिपोर्ट हालसम्म किन प्रकाशित भएन भनेर बीबीसीले समाचारमा प्रश्न समेत उठाएको छ । रिपोर्टले नेपाल र चीनबीच बढ्दो निकटतामा दबाब बढ्ने समाचारमा उल्लेख गरिएको छ ।
बीबीसीलाई प्राप्त रिपोर्टमा सीमामा चिनियाँ सुरक्षाकर्मीले गतिविधि बढाएको, लालुङजोङ स्थित नेपाली भूमिमा धार्मिक गतिविधि गर्न रोक लगाएको, नेपाली कृषकलाई वस्तुभाउ चराउन अवरोध गरेको उल्लेख छ । त्यस्तै, चीनले सीमा स्तम्भमा तार लगाउनका साथै नेपाली भूमिमा नहर र सडक बनाउने तयारी गरेको उल्लेख छ । तर, सीमाबारे अध्ययन गर्न गएको टोलीले यसअघि नेपाली भूमिमा बनाइएको भनिएको चिनियाँ भवन वास्तवमा चिनियाँ भूमिमा नै बनाएको पाएको रिपोर्टमा भनिएको छ ।
चिनियाँ बजारसँग आश्रित भएकाले त्यहाँ रहेका नेपालीहरूले सीमा समस्याबारे टोलीसँग धेरै कुरा गर्न नचाहेको रिपोर्टमा जिकिर गरिएको छ  रिपोर्टमा सीमामा नेपाली सुरक्षाकर्मीलाई तैनाथ गर्न सुझाव दिइएको छ ।रातोपाटीबाट