☰ open Loading... 5 February 2025|  

जुम्लाका सबै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम लागू
  | ७ फाल्गुन २०७८, शनिबार ०५:०७

जुम्ला : जुम्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागू भएको पाँच वर्षपछि जुम्लाका आठवटै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन हुने भएको छ ।  परियोजना एकाइ जुम्लाका निमित्त कार्यालय प्रमुख गंगा पोख्रेलका अनुसार पहिले चार स्थानीय तहमा कार्यक्रम सञ्चालन भएको थियो ।

 

जिल्लाकाे चन्दननाथ नगरपालिका सहित तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा सञ्चालन भइरहेको थियो । अब सिजा हिमा, कनकासुन्दरी र तिला गाउँपालिकामा कार्यक्रम लागू हुने भएको छ । विस्तार गर्न बाँकी रहेका वडा पातारासीका १, २, ३ र गुठीचौरका १ र २ वडामा लागू हुनका लागि पत्र प्राप्त भएको छ । परियाजना कार्यान्वयन एकाइ खुमलाटारका निर्देशक वैकुण्ठ अधिकारीको हस्ताक्षरित पत्र कार्यालयमा पुगेको निमित्त कार्यालय प्रमुख पोख्रेलले बताए ।

 

पत्रानुसार जुम्ला जिल्लामा सञ्चालित स्याउ सुपरजोन क्षेत्र विस्तारको लागि परियोजना कार्यदलको पत्र तथा जिल्ला परियोजना कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसअनुसार परियोजना व्यवस्थापन एकाइको निर्णयअनुसार स्याउ सुपरजोन क्षेत्र थप गरिएका हुन् । परियाजना निर्देशक अधिकारीले स्थानीय स्तरबाट आएको माग र प्राविधिक प्रतिवेदनको आधारमा जुम्लाका तिला, हिमा, सिंजा, कनकासुन्दरीसहितका छुटेका क्षेत्रमा कार्यक्रम थप गर्ने काम भएको जानकारी दिए ।

 

अर्को आर्थिक वर्षबाट पूर्णरुपमा कार्यक्रम लागू हुने उनले बताए । परियोजनाको सोच कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने रहेको छ । सोहीअनुसार जुम्लामा स्याउ सुपरजोन परियोजना कार्यान्वयन एकाइ स्थापना गरि काम भइरहेको कार्यालयले जनाएको छ ।

 

कार्यालयका अनुसार तिला गाउँपालिकामा भने सिमी जोन कार्यक्रम लागूसमेत गरिएको छ । सिमीको उत्पादन वृद्धि तथा बजारीकरणका लागि सो गाउँपालिकाको वडा नम्बर १ र २ मा कार्यक्रम लागू गरिएको हो ।