काठमाडौं । सरकारले संसद्बाट पारित गराएको अमेरिकी सहयोग परियोजना (एमसीसी) राजनीतिक दलका लागि चुनावी ‘भाषण’को विषय बन्दै गएको छ ।
सत्तारूढ गठबन्धनमा आबद्ध पाँच दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको सहमतिमा प्रतिनिधि सभाबाट पारित भएको एमसीसीलाई सत्तारूढ दलदेखि प्रमुख प्रतिपक्षी दलसम्मका नेताहरूले चुनावी भाषणको विषय बनाउन थालेका छन् ।
एमसीसी संसद्बाट पारित गर्ने नगर्ने विषयमा सत्तारूढ दलहरू लामो समयसम्म विभाजित बनेका थिए भने प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको नेकपा एमालेले एमसीसीमा मौन समर्थन गरेको थियो ।
यतिबेला भने दलका नेताहरू सोही विषयमा जनताबीच चुनावी कार्यक्रममा गएर र सामाजिक सञ्जालमार्फत फेरि बोल्न थालेका छन् ।
नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन केन्द्रित विशेष अभियान सञ्चालनका क्रममा छ । कांग्रेसले २९ फागुनबाट २९ चैतसम्म एकमहिने चुनावी अभियान नै घोषणा गरेर गाउँ पसिसकेको छ । उसले एमसीसीका विषयमा जनताबीच छरिएका भ्रमलाई अभियानमार्फत नै चिर्ने नीति लिएको छ ।
सोही क्रममा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नुवाकोटमा आयोजित पार्टीको कार्यक्रममा एमसीसीका विषयमा प्रमुख प्रतिपक्षी दलका नेताहरूको अभिव्यक्तिलाई लिएर बोलेका हुन् ।
उनले एमाले नेताहरू एमसीसीको विरोधमा उत्रिएको भन्दै ‘सरकारमा रहँदा ठीक र विपक्षमा रहँदा गलत भन्ने ?’ भन्दै एमाले नेताहरूको सार्वजनिक अभिव्यक्तिप्रति आलोचना गरेका हुन् ।
देउवाले नामै लिएर नेता भीम रावल सरकारमा रहेकै बेला एमसीसी मन्त्रिपरिषद्बाट पारित भई संसद्मा पेस भएको भन्दै रावलले एमसीसीको विरोध गर्नुको तुक नरहेको भनेका थिए । उनले रावललाई ‘त्यतिबेला किन प्रश्न नगरेको र अहिले किन टाउको दुखेको ?’ भनी प्रश्न गरेका हुन् ।
रावलले भने प्रधानमन्त्री देउवाले आफूमाथि लगाएको आरोपको प्रतिवाद गरेका छन् । उनले आफू मन्त्री भएका बेला मन्त्रिपरिषद्बाट एमसीसी पारित नभएको जिकिरसमेत गर्दै आइरहेका छन् ।
‘म केपी ओलीजी पहिलोपटक प्रधानमन्त्री भएको बेला उपप्रधानमन्त्री र रक्षामन्त्री थिएँ, ओलीले एमसीसीसँगको सम्झौता संसद्मा ल्याएको बेला होइन, अतः मेरो मन्त्रिपरिषद्मा सहमति रहेको भन्ने कुरै रहेन,’ रावलले प्रधानमन्त्री देउवाको अभिव्यक्तिप्रति सामाजिक सञ्जाल ट्वीटरमार्फत जवाफ दिएका छन् ।
नेता रावलले प्रधानमन्त्रीले आफूमाथि तुच्छ शब्द प्रयोग गरेको भन्दै पदीय मर्यादा कायम गर्न पनि उनलाई आग्रह गरेका छन् ।
‘देशको प्रधानमन्त्रीले प्रयोग गरेका तुच्छ शब्द लोकतन्त्रमा त्याज्य भएकोतर्फ ध्यान दिए तपाईंको पदीय मर्यादा कायम रहला,’ रावलले लेखेका छन् ।
उनले एमसीसी सम्झौता देशको हितमा नरहेकाले राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर आफ्नो टाउको दुखेको पनि प्रस्टीकरण दिएका छन् ।
सत्ता गठबन्धनमा रहेको दल राष्ट्रिय जनमोर्चा भने एमसीसीका विषयमा विपक्षमा नै उत्रिएको थियो । यसैगरी, राप्रपा र नेत्रविक्रम चन्द विप्लवसहितका साना दलहरूसमेत एमसीसीको विपक्षमा रहँदै आइरहेका छन् । केही दलले एमसीसीको विषयलाई चुनावी एजेन्डा नै बनाउँदै गएका छन् ।राजधानी दैनिकबाट ।