☰ open Loading... 24 December 2024|  

हुम्ला अस्पतालमा बिरामीको चाप बढ्यो
  | १३ जेष्ठ २०७९, शुक्रबार ०५:२०

हुम्लाको जिल्ला अस्पताल सिमकोटमा केही दिन यता झाडापखालाका बिरामी बढेका छन् । एक सातायता जिल्ला अस्पतालमा निमोनिया र झाडा पखालाका बिरामी उपचारका लागि बढी पुग्ने गरेको बताइएको छ ।

 

उपचारका लागि आउने यी बिरामीमध्ये बालबालिकाको सङ्ख्या वृद्धि भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । मौसम परिवर्तनका साथै पछिल्लो समय जिल्लामा काचा फलफूल खाने समय भएकाले बिरामीको सङ्ख्या बढेको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको हो । निमोनियाका बिरामी उपचारका लागि बढी आउने गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् ।

 

निमोनियाका साथै ज्वरो आउने, श्वासप्रश्वासमा समस्या बढी भएका बिरामी जिल्ला अस्पतालमा भर्ना हुने गरेको बोहराले जानकारी दिए। १५ श्यया रहेको जिल्ला अस्पतालमा पछिल्लो केही दिनयता बालबालिकाको संख्या ह्वात्तै बढेपछि १३ बालबालिकालाई जिल्ला अस्पतालमा भर्ना गरिएको सिनियर अनमी बोहराले बताइन् ।

 

अस्पतालमा भर्ना भएका बिरामी बालबालिका मध्य सात जनालाई श्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिएर राखिएको छ । निमोनियाकै कारण एक जना बालिकाको मृत्युु भएको र एक जनाको स्वास्थ्य जटिल रहेको छ ।

 

बिरामी बालबालिका तीन वर्ष मुनिका रहेका छन् भने सिमकोट गाउँपालिका भरिबाट दैनिक ३० भन्दा बढी बालबालिका निमोनिया र झाडा पखालाका बिरामी आउने गरेको उनको भनाइ छ । बिरामी बालबालिका बढेपछि अस्पतालका श्यया बिरामी र कुरुवा आमाले भरिएका छन् ।

 

जिल्ला अस्पतालमा उपचार हुन नसकेका विभिन्न किसिमका पाँच जटिल बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको जानकारी प्राप्त भएको छ ।