☰ open Loading... 19 June 2024|  

समानुपातिकतर्फ ४८ दलले बुझाए उम्मेदवारको बन्दसूची
  | ५ आश्विन २०७९, बुधबार ०५:०८

काठमाडौं : समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् ।६८ दलले निवेदन दिएकोमा ४८ ले मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

 

आइतबार र सोमबार दलहरुलाई आयोगले बन्दसूची पेश गर्न समय दिएको थियो । पहिलो दिन ४ वटा दलले मात्र दर्ता गरेका थिए । अरु ४४ दलले सोमबार बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका थिए ।

 

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश भा चुनावका लागि दर्ता भएका ७६ दलमध्ये ६८ दलले  समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए । प्रदेशतर्फ प्रदेश नम्बर एक र मधेस प्रदेशमा समान ३६ दल, बागमती प्रदेशमा ४१ दल, गण्डकी प्रदेशमा ३१ दल, लुम्बिनी प्रदेशमा ३२ दल, कर्णाली प्रदेशमा २८ दल र सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् ।

 

आयोगले आजदेखि बन्दसूचीको छानबिन प्रक्रिया शुरु गर्नेछ । छानविन प्रक्रिया असोज ९ गतेसम्म चल्नेछ । मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउँछन् । यसअनुसार प्रतिनिधि सभामा एक सय १० र प्रदेश सभामा दुई सय २० सांसद समानुपातिकबाट छानिन्छन् ।