☰ open Loading... 26 July 2024|  

गर्भपतन गराउने किशोरीको संख्या बढ्दो
  | १३ आश्विन २०७९, बिहीबार ०५:४२

सुर्खेत: पछिल्लो समय गर्भपतन गराउने किशोरीको संख्या बढ्दो क्रममा रहेको पाइएको छ । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार सुरक्षित गर्भपतन गराउनेमा २० वर्ष मुनिका किशोरीको संख्या पनि अधिक देखिएको हो । कम उमेरमा गर्भवती हुनु स्वास्थ्यको हिसाबले जोखिमपूर्ण मानिन्छ । तर, बिहे गर्ने उमेर नहुँदै अर्थात् २० वर्ष मुनि उमेर समूहका किशोरीहरूको ठूलो संख्या यही उमेरमा गर्भवती भएपछि गर्भपतन गराइरहेका हुन् । जनस्वास्थ्य सेवा कार्यालयका पब्लिक हेल्थ नर्स संगिता खड्काले पछिल्लो दुई वर्षको तथ्यांक केलाउँदा सुर्खेतमा गर्भपतन गर्ने २० वर्ष मुनिका किशोरीहरूको संख्या वृद्धि हुँदै गएको बताइन् । उनका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा गर्भपतन गर्ने मध्ये दुई सय ४० जना २० वर्ष मुनिका किशोरीहरू रहेका थिए । त्यस्तै, आर्थिक वर्ष २०७८÷०७९ मा तीन सय २६ जना २० वर्ष मुनिका किशोरीले गर्भपतन गरेको तथ्यांक कार्यालयसँग छ । यो विवरण सूचिकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनेहरूको हो । सुरक्षित गर्भपतनका लागि निश्चित स्वास्थ्य संस्थाहरू तोकिएका छन् । असुरक्षित गर्भपतन कानुनी रूपमा बर्जित छ । जनस्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार अहिले पनि सुरक्षितभन्दा असुरक्षित गर्भपतन गर्नेहरूको संख्या भने ठूलो छ । सुरक्षित गर्भपतन सबैको पहुँचमा नहुनु तथा समाजका डरले पनि धेरैजसो महिलाहरू असुरक्षित रूपमा गर्भपतन गरिरहेका छन् ।

आर्थिक वर्ष २०७६÷०७७ मा सुर्खेतमा दुई हजार चार सय ८३ जनाले गर्भपतन गरेका थिए । २०७७÷०७८ मा दुई हजार चार सय ७३ जनाले गर्भपतन गरे । आर्थिक वर्ष २०७८÷०७९ मा दुई हजार ६ सय १५ जनाले गर्भपतन गरेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको विवरण छ । यो तथ्यांक सुर्खेतमा रहेका सूचिकृत स्वास्थ्य सेवा प्रदायकले राखेका हुन् । ती ठाउँमा निःशुल्क गर्भपतन सेवा दिने गरिएको छ । सरकारले निःशुल्क गर्भपतन सेवा दिएका कारण र सेवा प्रदायक संस्थाहरू पनि विस्तार भएकाले सेवा लिनेहरू पनि बढेको बताइएको छ । सुरक्षित गर्भपतन लिनेको संख्या बढ्नुमा सेवाको पहुँच विस्तार मुख्य कारण रहेको नर्स खड्काले बताइन् । उनी भन्छिन्, ‘एउटा सेवा विस्तारले संख्या बढेको हो । अर्को भने असुरक्षित यौनसम्पर्कका कारण पनि उमेर नपुगी गर्भवती बन्ने र गर्भपतन गराउनेहरू बढ्दै गएको देखिन्छ । उमेर नपुगी गर्भवती हुनु शारीरिक र मानसिक हिसाबले पनि राम्रो मानिदैन ।’ किशोरी अवस्थामा प्रजनन् अंगहरूको पूर्ण विकास नहुने हुँदा गर्भधारणा गर्नु निकै जोखिमपूर्ण हुने उनी बताउँछिन् ।अहिले पनि सुरक्षित गर्भपतन सेवाको पहुँचमा भने धेरै महिलाहरू छैनन् । गर्भपतन सेवा सहर केन्द्रित छन् । ग्रामीण क्षेत्रका महिलाहरू ज्यान नै जोखिममा राखेर असुरक्षित रूपमा गर्भपतन गराउँदै आएका छन् । दक्ष जनशक्ति र सूचिकृत स्वास्थ्य संस्थाको अभावमा यो सेवा सबैको पहुँचमा पुग्न नसकेको हो । कतिपयले सरकारी स्वास्थ्य संस्थामा गोपनीयता नहुने आशंकामा पनि असुरक्षित गर्भपतन गराउने गरेको पाइन्छ । सूचिकृत स्वास्थ्य संस्थामा गर्भपतन गराउँदा गोपनीयता नहुने भन्नेमा सत्यता नरहेको नर्स खड्काले बताइन् । बरु असुरक्षित गर्भपतनका कारण जटिलता आउने भन्दै उनले सुरक्षित गर्भपतमा जोड दिइनुपर्ने जनाइन् । पछिल्ला वर्षमा परिवार नियोजनका साधनको उपलब्धता हुँदाहुँदै पनि बेवास्ता गर्ने तर गर्भ रहेपछि असुरक्षित तरिकाले पतन गर्ने प्रवृत्ति धेरै देखिएको उनको भनाइ छ ।

गर्भपतनका लागि पायक पर्ने ठाउँमा सूचिकृत सेवा प्रदायक संस्था र तालिम प्राप्त जनशक्ति नहुँदा पनि असुरक्षित गर्भपतन गर्नुपर्ने बाध्य छ । सुर्खेतका नौमध्ये दुई वटा पालिकामा अझै पनि सुरक्षित गर्भपतन सेवा उपलब्ध छैन । चौकुने र सिम्ता गाउँपालिकामा सुरक्षित गर्भपतन गर्ने सूचिकृत सेवा प्रदायक संस्था छैनन् । जसले गर्दा त्यहाँका महिलाहरू सेवा लिन टाढा जानुपर्ने बाध्यता छ । टाढा जानुपर्ने झन्झटले गर्दा धेरैजसोले नजिकको मेडिकलबाट औषधि प्रयोग गरी असुरक्षित रूपमा गर्भपतन गर्ने गरेका छन् । हाल सुर्खेतमा सुरक्षित गर्भपतनका लागि १९ वटा स्वास्थ्य संस्था सूचिकृत छन् । त्यसमध्ये १० वटा सरकारी र नौ वटा निजी स्वास्थ्य संस्था हुन् । सुरक्षित गर्भपतका लागि स्वास्थ्य संस्थाभन्दा पनि जनशक्तिको निकै ठूलो अभाव छ । तालिम प्राप्त स्वास्थ्यकर्मीको सरुवा भइरहने हुँदा सेवालाई निरन्तरता दिन समेत कठिनाइ हुने गरेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

सुरक्षित गर्भपतनका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् । सचेतनासँगै सेवाको पुहँुच विस्तारमा ध्यान दिइनुपर्ने उनीहरूको भनाइ छ । बुधवार वीरेन्द्रनगरमा वियोण्ड बेजिङ कमिटीको सहयोगमा सीमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) ले आयोजना गरेको सुरक्षित गर्भपतनसम्बन्धी सचेतनामूलक कार्यशालाका सहभागीले सुरक्षित गर्भपतनका लागि सचेतनामै जोड दिन आवश्यक रहेको औंल्याएका हुन् । यसमा स्थानीय सरकारको भूमिका महŒवपूर्ण हुने बताइएको छ । वामले वियोण्ड बेजिङ कमिटीको सहयोगमा सुर्खेतमा विगत तीन वर्षदेखि सुरक्षित गर्भपतनमा अधिकार परियोजना सञ्चालन गरिरहेको छ । संस्थाका कार्यकारी निर्देशक मधुरानी ढकालले पछिल्ला वर्षहरूमा सुरक्षितभन्दा पनि असुरक्षित गर्भपतन बढेको बताइन् । उनले छोराको चाहानामा गर्भमा छोरी भए पतन गर्ने आपराधिक मानसिकले पनि असुरक्षित गर्भपतन बढेको भन्दै यसलाई रोक्न सबै सचेत हुनुपर्नेमा जोड दिइन् । कानुनले अपराध ठाने पनि लुकिछिपी गर्भपतन गर्ने र यसले जटिलता ल्याउने उनको भनाइ छ । वियोण्ड बेजिङ कमिटीका महासचिव कृष्णाकुमारी वाइबाले सुरक्षित गर्भपतनसँग सम्बन्धी कानुन भए पनि कार्यान्वयन फितलो रहेको बताइन् ।साझा बिसौनीबाट