☰ open Loading... 19 October 2024|  

प्रेस काउन्सिलद्वारा मिडिया अनुगमन सुझाव समिति गठन
  | ७ कार्तिक २०७९, सोमबार ०५:०४

काठमाडौंः प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित मिडिया अनुगमनलाई प्रभावकारी बनाउन सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । आइतबार बसेको काउन्सिलको बोर्ड बैठकले अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा नेपालपत्रकार महासङ्घ र काउन्सिलका पूर्वअध्यक्षहरू संलग्न सुझाव समिति बनाउने निर्णय गरेको हो ।

 

‘चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सञ्चार माध्यम र समग्र मिडिया जगतको ठुलो हात हुने भएकाले उक्त भूमिकालाई सबल र अनुगमनलाई प्रभावकारी बनाउन समितिले आवश्यक सुझाव समेत दिनेछ’ काउन्सिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिले असोज २८ गतेदेखि सञ्चार माध्यममा निर्वाचन आचारसंहिताको विशेष अनुगमन गरिरहेको छ । यसलाई थप प्रभावकारी र परिणाममूलक बनाउनका लागि काउन्सिलको कात्तिक ६ गते आइतबार बसेको बोर्ड बैठकले निर्वाचन केन्द्रित आचारसंहिता अनुगमन सुझाव समिति समेत गठन गर्ने निर्णय गरेको हो ।

 

साथै, बैठकले चुनावका बेला सञ्चारकर्मीले कायम गर्नुपर्ने तटस्थता, आचारसंहिता पालनाका विषयलाई थप प्रभावकारी बनाउन नेपाल पत्रकार महासंघ समेतसँग आवश्यक छलफल र सहकार्य गर्ने निर्णय समेत गरेको छ । त्यसका लागि महासङ्घमा आवद्ध देशभरका सदस्यको विवरणका उपलब्ध गराउन महासङ्घमा र प्रेस परिचयपत्रको विवरणका लागि सूचना तथा प्रसारण विभागमा पत्र लेख्ने निर्णय गरेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

 

यो पटकको निर्वाचनमा काउन्सिलले वस्तुगत र विषयगत दुवै विधिमार्फत अनुगमन थालेको बताएको छ । प्रतिनिधि सभा निर्वाचनमा सबैको चासो बढी हुने हुँदा निर्वाचनमा भाग लिने दल तथा उम्मेदवारलाई सञ्चार माध्यमले कति स्थान दिए, कस्ता विषय उठान भए, आचारसंहिता पालनाको अवस्था कस्तो रह्यो लगायतका पक्षमा अनुगमन गर्ने अन्तर्राष्ट्रिय प्रचलनअनुसार कार्य भइरहेको विज्ञप्तिमा जनाइएको छ । अनुगमनका लागि काउन्सिलमा पत्रपत्रिका (छापामाध्यम), रेडियो, टेलिभिजन, अनलाइन मिडिया र सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययनका लागि बेग्लाबेग्लै ‘डेक्स’ स्थापना गरिएको छ ।