☰ open Loading... 20 June 2024|  

सुर्खेत-२ : मा कांग्रेसका थानी विजयी
  | ७ मंसिर २०७९, बुधबार ०८:०८

सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन्। उनी ३४ हजार छ सय २५ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार पाँच सय ५८ मत प्राप्त गरे। थानीले एमालेका जिल्ला अध्यक्षसमेत रहेका अमृतबहादुर बुढाक्षेत्रीलाई पाँच हजार ६७ मतान्तरले पराजित गरेका हुन्।

थानीले योसँगै तीनपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका छन्। विसं २०७४ मा एमालेका नवराज रावतसँग उनी पराजित भएका थिए।

रावतले ३७ हजार चार सय ४७ मत ल्याएर निर्वाचित हुँदा थानीले २८ हजार छ सय ४६ मत प्राप्त गरेका थिए। थानी यसअघि विसं २०५६ र २०७० मा यही क्षेत्रबाट निर्वाचित भएका थिए भने सहकारी तथा गरिबी निवारणमन्त्री भइसकेका छन्।

सुर्खेत १ मा कांग्रेस उपसभापति खड्काको सुरुआती अग्रता

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत-१ बाट प्रतिनिधिसभा सदस्यमा सुरुआती अग्रता लिएका छन्। सुर्खेत-१ मा मङ्गलबार राति १२ बजेबाट मतगणना सुरु भएको थियो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार तीन हजार दुई सय ३८ मतगणना हुँदा खड्काले एक हजार सात सय ७२ मत प्राप्त गरेका छन्। यस्तै नेकपा (एमाले)का ध्रुवकुमार शाहीले एक हजार तीन सय ५५ मत प्राप्त गरेका छन्।

यस्तै राप्रपाका छत्रपति थापाले ६६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले १७ मत प्राप्त गरेका छन्। प्रदेशसभातर्फ पनि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारले सुरुआती अग्रता लिएका छन्।

प्रदेशसभा (१) तर्फ नेपाली कांग्रेसका उम्मेदवार खड्क पोखरेलले दुई हजार दुई मत प्राप्त गरेका छन् भने एमालेका ठम्मर विष्टले एक हजार तीन सय २६ मत प्राप्त गरेका छन्।

प्रदेशसभा (२)बाट लोकतान्त्रिक-वाम गठबन्धनका कृष्ण जिसी ‘जितेन्द्र’ अगाडि छन्। नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जिसीले एक हजार एक सय ७८ मत प्राप्त गरेका छन् भने एमालेका डण्डीप्रसाद शर्माले नौ सय २९ मत प्राप्त गरेका छन्।