☰ open Loading... 23 December 2024|  

बारा–२ बाट जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित
  | १३ बैशाख २०८०, बुधबार ०५:१९

बारा । बारा-२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । उनी २८ हजार ४ सय १५ मतका साथ विजयी भएका हुन् । यादवका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत पाएका थिए ।

सप्तरीबाट पराजित भएको पाँच महिना नबित्दै बारा २ को उपचुनावमार्फत यादव निर्वाचित भएर प्रतिनिधिसभामा पुगेका छन् । सप्तरीमा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका यादवले बाराको यस क्षेत्रमा आफ्नो पार्टीको जीतलाई जोगाउन सफल भएका छन् । संसदमा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन जनाएको १३ सिट रहेको जसपाबाट अब यादवले उपप्रधानमन्त्रीसहित सरकारमा दाबी गर्ने ढोका खुलेको छ ।

यस क्षेत्रमा ३६ जना उम्मेवदारहरू चुनावी मैदानमा थिए । जसमध्ये एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ८२९ मत पाए । त्यस्तै आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले २ हजार ७३८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद सा तेलीले ११९ मत पाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कमरुल्लाह अंसारीले १०५ र नेपाल मजदुर किसान पार्टीका मुक्ति प्रसाद यादवले ४७ मत पाएका छन् । संघीय समाजवादी पार्टीका नेजारुल अंसारी नेपालको पोल्टामा भने ११ मत र मंगोल नेशनल अर्गनाइजेसनका प्रमोद राम चमारको भागमा ५ मत मात्र पर्‍यो ।