☰ open Loading... 15 June 2024|  

अपर डोल्पाको झुपा लेकमा ‘माइकल’ हराउँदा
  | २ जेष्ठ २०८०, मंगलवार ०५:३०

जुम्ला । गत कात्तिक अन्तिम साता मुलुक प्रदेशसभा र प्रतिनिधिसभाको चुनावी संघारमा थियो । मतादाता मुलुकको भाग्य र भविष्य निर्धारण गर्न आफ्ना प्रतिनिधि चुन्ने दिन पर्खिरहेका थिए, भने उम्मेदवारलाई आआफ्ना योजना र एजेन्डा सुनाउन भ्याइनभ्याइ थियो । यही व्यस्ताको घडीमा जुम्ला पातारासीका पर्यटन व्यवसायी सिप बुढा युरोप ‘मनाखु’का माइकलजिंगललाई अपर डोल्पा घुमाइरहेका थिए । जुम्ला, रारा हुँदै अपर डोल्पाको यात्रामा निस्केपछि मौसम बाधक बन्दै थियो । साबिक कर्णाली क्षेत्रको हावापानीअनुसार यहाँका डाँडापाखा असोज कात्तिकमा हरियो सुकेर रुखो बन्ने प्रक्रियामा हुन्छ ।

कर्णाली चिनाउने सिप बुढाको अनुभव

डोल्पाको लेकाली क्षेत्र पुग्दा वर्षायाममा उर्लेर बग्ने पाटनका खोला कात्तिकमा भने तेल सकिन लागेका बत्तीजस्तो मधुरो गतिमा बगिरहेका थिए । तर, वन्यजन्तु र चराहरूको चिरबिर आवाज र प्रकृतिले निःशुल्क उपलब्ध गराएको पाटनको दृश्यले विदेशी पर्यटक माइकल रामाञ्चित र उत्सुक भइरहेका थिए । ‘कुनै भूगोलमा टक्क उभिएर चारै दिशाका दृश्य नियाल्नुहोस्, त कति धेरै कुरा नियाल्न सकिन्छ । माइकलले पनि क्यामेरामा त्यहाँको पर्यावरण, हिमालका आर्कषक दृश्य कैद गरिहेका थिए,’ सिप बुढाले सुनाए । ‘माइकल साहसिक पर्यटनमा रमाउन उत्साहित भएर नेपाल आएका थिए, त्यसैले भिरपाखा छिचोल्दै अपर डोल्पा पुगी छाड्ने प्रतिज्ञा माइकलको थियो,’ सिपले सुनाए ।

१२ वर्षको उमेरदेखि पर्यटनमा जोडिएका सिपको अनुभवमा आराम र सुविधाको पक्षमा विदेशी पर्यटक कहिल्यै हुँदैनन् । उनीहरू साहसिक यात्राका साथमा प्रकृति बुझ्न र नियाल्न चाहन्छन्, नौलो अनुभव बटुल्ने सौख हुन्छ । माइकल पनि यी र यस्तै गुणका थिए । सम्भावित जोखिमको आँकलन गर्दै माइकललाई अपर डोल्पा नजाने प्रस्ताव गर्दा माइकलले नयाँ गन्तव्य, नयाँ अनुभव र नयाँ विचारका निम्ति नेपाल आएको भनेर अपर डोल्पा पुग्ने अठोट दोहो-याएको सिपले बताए ।

आवश्यक मात्रामा भौतिक विकास र प्रचारप्रसार नहुँदा ओझेल परेको सुन्दर क्षेत्र हो, अपर डोल्पा । माइकल घुमेपछि केही हदसम्म भए पनि बाह्य पर्यटकको ध्यान आकर्षित हुने सिपको विश्वास थियो । ‘प्रकृतिको जादु बेग्लै हुन्छ, सेतो बादल र नीलो आकाश, सुसाउने खोलानालाको संगीत, दन्तझैं टल्केका हिमालले माइकल मौसम प्रतिकूल छ, भन्ने भुलिरहेका थिए,’ सिपले भने ।

राराबाट मुगुको डोल्फु गाउँ हुँदै झुपा लेकको यात्रा तय भयो । जब झुपा लेकको बिचमा पुगियो त्यसपछि मौसमले चुनौती थप्यो । हिउँले सेताम्मे बनेको जमिनमा बाटो पत्ता नलाग्दा तीन जनाको जीवन संकटमा परेको सिपले सुनाए । ‘५ हजार मिटर उचाइमा एक जना भरिया, म र माइकलसँग खानाको नाममा चाउचाउ मात्रै थियो, आकाशबाट निरन्तर हिउँ वर्षिरहेको थियो । दुई दिनसम्म ढुंगे ओडारमा बसेर प्राण रक्षाको याचना गरिरहेका थियौं,’ सिपले भने ।

‘जीवन र मरणको दोसाँधमा पर्दा मृत्यु कति भयानक छ, भन्ने आभास भयो, नजिकबाट मृत्यु देखिन थाल्यो, तर सास हुन्जेलसम्मको आश भनेझैं तेस्रो दिन बिहान मौसम खुलेपछि प्राण रक्षाका लागि चारैतिर हारगुहार गरियो, त्यो एकान्तमा हाम्रो चिच्याहट कसले सुन्ने ? अन्तमा अलि ओरालो झरेपछि मोबाइलमा नेटवर्क देखियो,’ उनले भने ।

सुरक्षा निकाय र आफन्तसँगको सम्र्पपछि प्राण बाच्ने आश पलाएको सिपले बताए । जुम्लाका पूर्व राज्यमन्त्री गोमा कुँवर र पातारासीका उपाध्यक्ष जनमाया रोकायासँग उद्धारका लागि कुरा भएपछि मनाङ एयरको हेलिकोप्टरमा काठमाडौं अवतरण गरेको सिपले बताए । माइकललाई सकुसल युरोप उडाएपछि मात्रै ढुक्क भएको सिपले बताए ।

पदयात्रा र अनुसन्धानका लागि आउने विदेशी पर्यटकका लागि कर्णाली उर्वर भए पनि सरकारसँग रूप प्लानिङ र व्यवस्थित पर्यटनका योजना नभएको सिपको भनाइ छ । माइकल युरोप फर्कंदा सिपलाई भनेका रहेछन्, ‘नेपालको प्रकृतिसँग घुलमिल हुन पुन फर्कनेछु । जहाँ जोखिम छैन, त्यहाँ मजा छैन तर उद्धार यहाँको पर्यटन भने व्यवस्थित हुनैपर्छ ।

सिप बुढा, जसको रगतमा पर्यटन बहन्छ
सिप बुढा १२ वर्षको उमेरबाट पर्यटनमा आबद्ध छन् । तीन वर्षको उमेरमा बुबा गुमाएका सिप भेडीगोठबाट छुट्टिएर पर्यटनसँग जोडिन पुगे । घरमा अंशबन्डा गर्दा अरूले सम्पत्ति बाँड्छन्, तर सिपले आफ्ना दाजुसँग ऋण बाडेका थिए । पर्यटक घुमाउँदै सगरमाथा, अन्नपुर्ण, लाङटाङ र सिंगो कर्णाली घुमेको अहिले पर्यटनबाटै जुम्ला खलंगामा घरघडेरी जोडेका छन् । जीवन सुविधाका लागि नभई संघर्षको लागि हो भन्ने मान्यता राख्छन् उनी । जुम्लामा कर्णाली भिजिट टुर एन्ड ट्राभल कम्पनी सञ्चालन गरेर कर्णाली चिनाउँदै हिँडेका छन् । सिपले भने, ‘कर्णालीसँग रारा, फोक्सुण्डो, डिगिदहजस्ता सुन्दर ताल छन्, जडिबुटीको खानी पनि छ तर सरकारसँग पर्यटन प्रवद्र्धनको योजना छैन ।’