☰ open Loading... 14 March 2025|  

माछा मार्ने जाल हाल्ने क्रममा कर्णालीमा एक युवा बेपत्ता
  | ५ जेष्ठ २०८०, शुक्रबार ०५:२८

हुम्ला — हुम्लाको दक्षिणी क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाका एम्बुलेन्स चालक कर्णाली नदीमा बेपत्ता भएका छन् । बिहीबार दिउँसो कर्णाली नदीमा माछा मार्न जाल हान्ने क्रममा नदीमा चिप्लेर चालक छक्क बुढा बेपत्ता भएका हुन् ।

४० वर्षीय बुढा कर्णाली नदीमा माछा मार्ने जाल हान्ने क्रममा चिप्लिएर दिउँसो २ बजेबाट बेपत्ता भएका हुन् । बिहान गल्फागाड खोलाबाट जाल खेल्दै गएका बुढा हुम्ला कर्णालीको रैसिडी भन्ने स्थानबाट कर्णाली नदीमा बेपत्ता भएको हुम्ला जिल्ला प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराईले बताए ।

बुढा गल्फगाडको रैसिडी खोला मिसिने कर्णाली नदीमा जाली तान्ने क्रममा नदीको बीचबाट बेपत्ता भएको स्थानीयहरूले बताएका छन् । घटना सार्वजनिक हुनेबित्तिकै अदानचुलीको गल्फागाड प्रहरी चौकी, मैला कवाडी चौकी, गाउँपालिकाका जनप्रतिनिधिहरू र अन्य स्थानीयले कर्णाली नदीको किनारमा खोजी गरिरहेका छन् ।

केही दिन अघिदेखि भएको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाब बढी हुनुका साथै आवश्यक उद्धार सामग्री नहुँदा खोजीमा समस्या भएको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीले बताए ।