☰ open Loading... 7 September 2024|  

वामदेव गौतम एमालेमा जान तयार, दोस्रो वरीयता चाहिने शर्त
  | ४ असार २०८०, सोमबार ०५:२३

काठमाडौं। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमालेमा जान दोस्रो वरीयता चाहिने शर्त राखेका छन् ।

आइतबार च्यासलस्थित एमाले मुख्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनले आफू एमालेमा फर्किन तयार रहेको र यसका लागि दोस्रो वरीयता दिनुपर्ने शर्त राखेका हुन् ।

अध्यक्षपछिको दोस्रो वरीयता दिएमा आफू एमालेमा फर्किन तयार रहेको नेता गौतमले अध्यक्ष ओलीलाई जानकारी गराएका हुन् ।

आफूलाई दोस्रो वरीयताको भूमिका दिएमा पार्टी एकताका लागि काम गर्ने बताएका गौतमलाई अध्यक्ष ओलीले आफू सकारात्मक रहेको र यसबारे नेताहरुसँग छलफल गरेर निर्णय लिने जवाफ दिएका छन् ।

गौतमले पार्टीमा आफु बिहान उठेदेखि नसुतेसम्म काम गर्न पाउने गरि जिम्मेवारी पाउनुपर्ने आफ्नो माग रहेको र सवै व्यवस्थापन भएपछि मात्रै एमालेमा आउने स्पष्ट पारे

एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतम एमालेमा फर्कन इच्छुक देखिएका हुन्। एमालेमा अहिले अध्यक्ष ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रो वरीयतामा छन् ।

सोमबार राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरी समाजवादको लक्ष्य बोकेका दलहरुबीच समाजवादी मोर्चाको औपचारिक घोषणा हुँदैछ। गौतमको दल पनि उक्त मोर्चामा सहभागी हुने बताइएको थियो ।

पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र सरकार बाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले संयुक्त मोर्चाका रुपमा मोर्चाको घोषणा हुन लागेको हो ।

गौतम पनि अन्तिम समयसम्म मोर्चामा सहभागी हुने भन्दै बैठकमा सहभागी भएका थिए। उनलाई पनि सहभागी गराउने नेताहरुले दाबी गरेका थिए।

गौतमले एमालेको ७० बर्षे उमेरहदको प्रावधान हटेपछि एमालेमा फर्कने आकांक्षा समेत व्यक्त गरेका थिए। यद्यपि पछिल्लो समय समाजवादी मोर्चामा सहभागी हुने सार्वजनिक रुपमा बताउँदै दलहरुसँग बैठकमा निरन्तर सामेल भएका थिए।।

तर, अन्तिम अवस्थामा फेरि एमाले अध्यक्ष ओलीलाई भेट्न पुगेका गौतम समाजवादी मोर्चामा सहभागी नहुने भएका छन्।