काठमाडौं । नेपाल कांग्रेसका महामन्त्री गगनकुमार थापाले दाग लागेको कांग्रेसको महामन्त्री हुनु भन्दा सफा कांग्रेसको कार्यकर्ता बन्न तयार रहेको बताएका छन् । नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले आफू बदलिने यात्रामा तयार रहेको स्पष्ट पनि पारे । बलियो, बदलिएको, सफा, सुद्ध कांग्रेसको कार्यकर्ता मात्रै भएर पछाडि बस्दा मज्जा आउँने महामन्त्री थापाको तर्क थियो । ‘दाग लागेको कांग्रेसको महामन्त्री हुनु भन्दा सफा कांग्रेसको एउटा कार्यकर्ता मात्र भएर बस्दै गर्दा बडो मज्जा आउँछ, म त्यो गर्न तयार छु’, थापाले भने ।
उनले नेतृत्व परिवर्तनका लागि विधि र थिति बसाल्नु पर्ने बताउँदै ‘किन एउटै व्यक्ति ५-६ पटक प्रधानमन्त्री बन्ने ?’ भन्दै प्रश्न पनि गरे ।
एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री बन्ने कुराले पार्टी संकटमा परेको तर्क गर्दै थापाले भने, ‘किन एउटै व्यक्ति ५-६ पटक प्रधानमन्त्री बन्ने ? उत्तर के हो त्यसको ?’ उनले आफूले उठाएको कुरा कुनै गुट वा आग्रहको नभई खुला छलफलको विषय भनेको प्रतिक्रिया दिए ।
डेमोक्रेसीमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने पद्दति कुनै पनि देश नभएको दाबी पनि महमन्त्री थापाले गरे । ‘संसारमा एउटा त्यस्तो देश मलाई बताई दिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको होस् । कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन’, उनले दोहोर्याए