पश्चिम नेपाल | ४ आश्विन २०८०, बिहीबार १९:४४
आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता हुँदैछ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसँग शिक्षक महासंघका प्रतिनिधिले संयुक्त रुपमा वार्ता गर्न लागेका हुन् ।
साँझ ७ बजे हुने वार्तामा ती मन्त्रालयका सचिवहरु पनि बस्नेछन् । शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ । उनीहरुले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारेर आन्दोलन गरिरहेका छन् ।