☰ open Loading... 5 May 2024|  

सिनियरलाई बाइपास गरेर भेरी अस्पतालमा निमित्त प्रमुख दिइयो
पश्चिम नेपाल   | १० आश्विन २०८०, बुधबार २१:४६

नेपालगन्जः भेरी अस्पताल भित्र राजनीतिक गन्ध शुरु भएको छ । भेरी अस्पतालमा काठमाण्डौंबाट सरुवा गराएर आएका नयाँ मेसु (प्रमुख) डा.पवनजंग रायमाझीले अस्पताल भित्र विधि प्रक्रिया मिच्दै कार्यहरु गर्न थालेपछि विवाद सुरु भएको हो । यस अस्पतालमा एघारौं, दशौं, नवौं तहका गरेर डेढ दर्जन भन्दा बढी चिकित्सक कार्यरत छन । एघारौं तहकी मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठ अस्तालकी सबै भन्दा सिनियर कर्मचारी हुनुहुन्छ । त्यसपछि एघारौं तहका डाक्टरहरु क्रमशःप्रमुख कन्सल्टेन्ट डर्माटोलोजिष्ट डा.बद्री चापागाई, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे, प्रमुख कन्सल्टेन्ट सर्जन डा.रुपानन्द अधिकारी र प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा.कृष्ण अधिकारी भेरी अस्पतालमा कार्यरत रहनु भएको छ। अस्पतालका नयाँ मेसु प्रमुख डा.पवनजंग रायमाझी पनि एघारौं तहका चिकित्सक हुनुहुन्छ ।

तर मेसु भन्दा सिनियर एक जना मेट्रोन ४ जना चिकित्सक भेरी मै कार्यरत छन । मेसु रायमाझीले आफु विदामा जाँदा एघारौं, दशौं, नवौं तहका एक दर्जन भन्दा बढि चिकित्सकलाई बाइपास गरेर आठौं तहका डा. संकेत रिसाललाई निमित्त दिने गर्नुभएको छ ।

आफुहरुलाई बाइपास गरेर पटक पटक आठौं तहका डा.रिसाललाई निमित्त दिएपछि दशौं नवौं तहका एक दर्जन भन्दा बढि चिकित्सकहरु यतिखेर मेसुसंग रुष्ट भएका छन् । अन्य चिकित्सकहरुले आफुहरुलाई निमित्त दिइएन भन्दा पनि नीति, नियम, विधि, पद्धती भन्दा बाहिर गएर मेसु रायमाझीले भेरी अस्पतालमा राजनीति गर्न थालेको अनुभूति भएको बताएका छन् । एक चिकित्सक भन्छन — भेरी अस्पतालमा त सिनियर जुनियरको कुनै मतलब नै छैन, लोक सेवा पास गरेका बरिष्ठ चिकित्सकलाई बिश्वास नै नगरेर समितिबाट आठौं तहमा नियुक्त भएका डा.रिसाललाई मेसुले किन निमित्त दिने गरेका छन् भन्ने थाहा पाउनै सकिएको छैन ।

ती चिकित्सक धेरै खुल्न नचाहे पनि निमित्त दिंदा पनि मेसुले आफ्नो गुटका नेतालाई रोज्ने गरेको सहजै बुझ्न सकिन्छ । एघारौं, दशौं, नवौं तहका एक दर्जन भन्दा बढि चिकित्सकलाई बाइपास गरेर समितिका आठौं तहका चिकित्सकलाई निमित्त प्रमुखको जिम्मेबारी दिएर मेसुले प्रचलिति बिधि र प्रकृयालाई खुलेआम चुनौती दिएको भेरी अस्पतालका चिकित्सकहरुले बताएका छन् । अस्पतालका अध्यक्ष र नयाँ मेसुले नयाँ कर्मचारी भर्ना गर्दा लिइने अन्र्तवार्तामा अस्पतालका बिभागिय प्रमुखहरुलाई बाइपास गरेर जुनियर चिकित्सकहरुलाई समाबेस गरेपछि बिभागिय प्रमुखहरुले कडा आपत्ती जनाउदै आफुहरुलाई बाइपास गर्नुको कारण मेसु रायामाझीलाई सोध्दै गुटबन्दी नगर्न चेताबनी दिएका छन ।

मेसु रायमाझी भन्दा सिनियर एघारौं तहका मेडिसिन बिभाग प्रमुख डा राजन पाण्डेले भदौ २४ गते लिइएको रेडियोग्राफी टेक्नोलोजिष्ट र असोज २ गते लिइएको मेडिकल अधिकृतको अन्र्तवार्तामा मेडिसिन बिभाग प्रमुखलाई बाइपास गरेर जुनियर डाक्टरलाई अन्र्तबार्ता लिने समितिमा राखेकोमा कडा आपत्ती जनाउदै अस्पताल प्रशासनमा आपत्ती पत्र नै दर्ता गर्नुभएको छ । रेडियोग्राफी टेक्नोलोजिष्ट, मेडिकल अधिकृतको दुबै अन्र्तवार्ता परिक्षामा मेसु रायमाझीले मेडिसिन बिभाग प्रमुख डा पाण्डेलाई बाइपास गरेर मेडिसिन बिभागकै १० औं तहका डा.खगेन्द्रजंग शाहलाई सहभागी गराएको बताइएको छ ।

त्यसैगरि क्यान्सर अस्पताल खजुराले एनेस्थेसोलोजिष्टको अन्र्तवार्तामा बिषय बिज्ञ पठाइ दिन अनुरोध गरेर पत्र पठाउँदा भेरीममै रहेका एनेस्थेसोलोजी बिभागका प्रमुख डा.कृष्ण आचार्यलाई बाइपास गरेर सिधै जुनियर एनेस्थेसोलोजिष्ट डा.लाई पठाउन खोजेका पाइएको छ। बिभागिय प्रमुखसंग समन्वय नगरी सिधै जुनियर चिकित्सक अभिशेष मदनवाललाई पठाउन खोजेपछि बिभागिय प्रमुख डा.आचार्यले कडा आपत्ती जनाएपछि मेसुले बिभागिय प्रमखुलाई पत्र लेखेर एनेसथेसोलोजी बिभागबाट एक जना चिकित्सक पठाइ दिन आग्रह गर्नुभएको थियो । मेसुका पत्र पठाए पछि डा.अभिशेष मदनवाललाई नै पठाइ दिएको बिभागिय प्रमुख डा.आचार्यले बताउनुभयो । जनरल हेल्थ सर्भिसबाट एघारौं तहमा पुगेका डा.रायमाझीको पद नै प्रमुख मेडिकल सुपरिटेन्डेन अर्थात अस्पताल प्रशासक नै हो ।

काँग्रेसका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले ५ जना सिनियर चिकित्सक र नर्सिङ अधिकृत हुँदा हुँदै आफु निकट डा.रायमाझीलाई भेरी अस्पतालमा मेसु नियुक्त गरेर पठाउनुभयो । अस्पताल प्रशासक सिट मै एघारौं तहमा पुगेका प्रसूति गृह लगायतका केन्द्रिय अस्पतालमा प्रमुख भएर काम गर्नुभएका नयाँ मेसुबाट नेपालगन्जबासीले भेरी अस्पतालको ब्यबस्थपान सुधार हुने र बिरामीले सहज रुपमा गुणस्तरिय सेवा पाउने आशा गरेका थिए । तर सुरुवात राम्रै गरे पनि मेसु डा.रायमाझी महिना दिनमै विवादमा पर्न थाल्नुभएको छ । विवादको मुल बिषय अस्पताल भित्र राजनीति शुरु गर्नु ।

मेसु रायमाझीले अस्पतालका चिकित्सकहरु मध्ये अस्पताल बिकास समितिबाट मेडिकल अधिकृतमा नियुक्त भएका र नवौं तहका लागि लोकसेवा आयोगबाट लिइने परिक्षा पटक पटक परिक्षा दिंदा पनि पास हुन नसकेका कारण करिब १५-१६ बर्ष देखि आठौं तहमा थन्किरहेका डा. सकेत रिसालको गुटलाई समातेर अस्पतालमा गुटबन्दी गर्न थालेपछि विवाद चुलिदै गएको छ । स्वास्थ्य मन्त्री नियुक्त भएपछि बस्नेतले काँग्रेसका युवा नेता वीरेन्द्र बहादुर शाहलाई अस्पताल विकास समितिको अध्यक्ष र ११ औं तहका अस्पताल प्रशासक डा.पवनजंग रायमाझीलाई भेरी अस्पतालको मेसुमा नियुक्त गर्नुभएको छ ।

सरकार फेरिएसंगै अस्पतालको मेसु र विकास समितिको अध्यक्ष फेरिनु सामान्य हो । केन्द्रिय अस्पतालको रुपमा रहेको भेरी अस्पताल पश्चिम नेपालको रेफरल सेन्टर पनि हो । मेसुकै कारण देशका अन्य अस्पतालको तुलनामा चिकित्सकहरु बिच राम्रो एकता र सहकार्य हुँदाहुँदै आएको भेरी अस्पतालमा नयाँ गुटबन्दी सुरु भएको छ । रिसालको गुटको सहयोगीको रुपमा मेसु र अध्यक्ष वीरेन्द्र बहादुर शाह देखिन थालेको कर्मचारीहरु बताउँछन् । मेसु डा.रायमाझी र निमित्त मेसु रिसाललाई मोवाइलमा फोन गर्दा रिसिभ भएन ।

-स्वास्थ्य पेजबाट