☰ open Loading... 4 May 2024|  

एम्बुलेन्समा राखेर गाँजा तस्करी
पश्चिम नेपाल   | ११ आश्विन २०८०, बिहीबार ०७:११

एम्बुलेन्समा राखेर लागु औषध गाँजा तस्कर गर्दै गर्दा सीमा क्षेत्रबाट प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएको छ।

एम्बुलेन्सलाई सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले कुनै चेक नगरी आवतजावत सहज बनाएको फाइदा लिँदै गाँजा तस्कर गर्दै गर्दा सीमा क्षेत्रबाट धरानको एउटा एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ लाभाघाटबाट बुधबार राति साढे १० बजेतिर गाँजा बरामद भएको मोरङ प्रहरीले जनाएको छ।

गाँजा तस्करी हुँदै गरेको विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले भारततर्फ जाँदै गरेको एउटा एम्बुलेन्स र भारतीय नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएर चेक गर्ने क्रममा सुनसरीको धरान–१८ स्थित राजन अधिकारी फाउण्डेशनको को १ च ४६१९ नम्बरको एम्बुलेन्सको डिकीभित्र गाँजा फेला परेको हो। एम्बुलेन्सको डिकीभित्र लुकाइ राखेको २१ केजी ५ सय ग्राम गाँजा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

एम्बुलेन्सभित्रबाट गाँजाका साथै ४० हजार नेपाली रुपैयाँसमेत बरामद भएको डिएसपी दाहालले बताए। एम्बुलेन्स चालक धरान–११ का ३८ वर्षीय गंगा सरकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एम्बुलेन्ससँगै रहेको बिआर ३८ एएफ ०३३६ नम्बरको भारतीय मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

भारतीय मोटरसाइकल चालक फरार भएको र उनको खोजी भइरहेको छ। बरामद भएको गाँजा, नियन्त्रणमा लिइएको एम्बुलेन्स र पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

त्यस्तै, विराटनगर–१८ लाभाघाटस्थित खेतमा बेवारिसे अवस्थामा छाडेको १६ केजी ५ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको छ। खेतमा रहेको परालभित्र लुकाएको बरामद भएको प्रहरीले जनाएको छ। पछिल्लो समय नेपालबाट ठुलो परिमाणमा गाँजा र भारतबाट ब्राउन सुगर तस्करी हुने गरेको छ।