☰ open Loading... 18 May 2024|  

दसैँमा सधैँ चिनीको कालोबजारी
पश्चिम नेपाल   | १५ आश्विन २०८०, सोमबार ०६:५३

प्रत्येक वर्षको दसैँ, तिहार र छठमा जस्तै यो वर्षको चाडबाडमा समेत चिनीको मूल्य अचाक्ली बढेको छ । नेपालमा प्रत्येक वर्षको दसैँलगायत मुख्य चाडमा व्यापारीहरूले चिनीको मूल्यमा चलखेल गर्दै आएका छन् ।

यो वर्षको चाडबाड नजिकिएसँगै आयातकर्ता र बिक्रेताले चिनीको मूल्यमा प्रतिकिलो ३० रुपैयाँसम्म बढाइसकेका छन् । एक महिना अघिसम्म खुद्रा बजारमा प्रतिकिलो १०५ रुपैयाँ रहेको चिनीको मूल्य यति बेला बढेर १३० देखि १४० रुपैयाँसम्म पुगिसकेको छ । यो एक महिनाको अवधिमा भएको २५ देखि ३५ रुपैयाँ सम्मको मूल्यवृद्धि हो ।

यससँगै, अघिल्ला वर्षहरूको दसैँमा जस्तै यो दसैँमा समेत उपभोक्ताले बढेको मूल्यमा चिनी किन्नुपर्ने भएको छ । बजारको मूल्यवृद्धिलाई नियन्त्रण गर्ने लक्ष्यसहित सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसमेत कालोबजारीसामु निरीह बन्ने निश्चित भएको छ ।

नेपालका चिनी उत्पादक उद्योगहरू उखु उत्पादनमा आउने समस्या र किसानको रकम भुक्तानी नगरेर बदनामसँगै बन्द हुँदैछन् । यसले गर्दा पनि उपभोक्ता महँगोमा चिनी किन्न बाध्य छन् ।