☰ open Loading... 17 May 2024|  

हत्यापछि सासुको शव भकारीमा लुकाएकी थिइन्
पश्चिम नेपाल   | २१ आश्विन २०८०, आईतवार १९:११

सल्यानमा बुहारीले सासूको हत्यापछि शव धानको भकारीमा लुकाएको तथ्य खुलेको छ।

शिद्धकुमाख गाउँपालिका–४ खार्बनकी ४९ वर्षीया गणेशी रोकाको शव असोज १७ गते घरभित्रै धान राख्ने काठको भकारीमा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको थियो।

असोज १५ गतेदेखि बेपत्ता भनिएकी गणेशीको हत्या उनकै कान्छी बुहारी १८ वर्षीया शर्मिला बुढाथोकीले गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले सेतोपाटीलाई बताए।

सामान्य भनाभनको विषयलाई लिएर बुहारी शर्मिलाले घरमा कोही नभएको मौका छोपी सासू गणेशीको दाउराले टाउकोमा हानी लडाएपछि सलले घाँटी थिचेर हत्या गरी जोगिन धानको भकारीभित्र शव लुकाएर राखेको तथ्य खुलेको डिएसपी कार्कीले जानकारी दिए।

घटना अनुसन्धानमा संलग्न जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठका अनुसार असोज १५ गते बिहान शर्मिला र उनकी सासू गणेशीबीच धान माड्न (धान चुट्न) खेतमा गएका बखत सामान्य भनाभन भएको थियो।

सोही दिन दिउँसोमा पनि सासूबुहारी फेरि खेतमा धान माड्न गएका थिए। त्यतिखेर पनि सासूबुहारीबीच विवाद भएको थियो।

घरमा आएर पनि फेरि विवाद भयो। त्यही विवादका क्रममा शर्मिलाले बाहिर भान्सा नजिक राखेको दाउराले सासूलाई टाउकोमा प्रहार गरेकी थिइन्। उनी लडेपछि सोही दाउराले शरीरका विभिन्न भागमा आक्रमण गरेपछि गणेशी छटपटाउन थालिन्। गणेशी छटपटाइरहेको समयमा शर्मिलाले गणेशीकै टाउकोमा बाँधेको सल (कपडा) निकालेर घाँटीमा त्यसैले कसेर हत्या गरेको तथ्य खुल्न आएको प्रहरी प्रवक्ता श्रेष्ठले बताए।

गणेशीको मृत्यु भएको यकिन भएपछि शर्मिलाले घरको तल्लो तलाको धान राख्न बनाइएको काठको भकारीमा शव लुकाइछिपाइ राखेको श्रेष्ठले जानकारी दिए।

-सेतोपाटीबाट