☰ open Loading... 2 May 2024|  

इजरायलबाट समर्पण भन्छन्: ‘बम पड्केको सुन्दा मुटुले ठाउँ छोड्छ, बङ्कर भित्र बसेका छौँ’
पश्चिम नेपाल   | २१ आश्विन २०८०, आईतवार २०:४३

कति बेला आकाशमा विस्फोट हुन्छ, थाहा हुन्न। आकाशमा देखिने आगोका मुस्लोले होस उड्छ। ज्यान जोगाउने कसरी? जसरी हुन्छ चाँडै नेपाल फर्कन पाए हुन्थ्यो जस्तो लाग्छ इजरायलमा रहेका दाङका समर्पण आचार्यलाई। ‘कति बेला आकाशमा पड्किने हो केही थाहा हुन्न,’ उनले भने ‘कसरी ज्यान जोगाउने भन्ने त्रासमा बाँचिरहेका छौँ।’

इजरायलको बर्सो भन्ने स्थानमा छन् समर्पण। उनी भएको स्थान भन्दा झण्डै २० किलोमिटर दुरीमा रहेको ‘अलुमिम किवुज’ भन्ने स्थानमा प्यालेष्टानी विद्रोही समूह हमासले ठूलो विस्फोट गरायो। ‘हामी भएको ठाउँ भन्दा झण्डै २० किलो मिटर दुरीमा त्यो विस्फोट भएको हो,’ उनले भने ‘निरन्तर बम आक्रमणहरू भइरहेका छन्,बमका आवाज सुनिरहन्छन्।’

हमास समूहले निरन्तर गरिरहेको बम हमलाका कारण असुरक्षित छन् समर्पण लगायत उनका साथीहरू। अनि बङ्कर भित्रै उनीहरूको बसाई छ। बाहिर निस्कन सक्ने अवस्था छैन। कति बेला बडेमानको विस्फोट हुन्छ थाहै हुँदैन। बाहिर साइरन बज्नमा साथ उनीहरु कुदेर बङ्कर भित्र लुक्छन्। ‘एक छिन खाना खान निस्केका थियौँ,नत्र भने बङ्कर भित्रै बसिरहेका छौँ,’उनले भने ‘एकै छिनमा बमको आवाज आउँछ, अनि साइरन बज्न थालिहाल्छ, कुदेर बङ्कर भित्र छिर्नु पर्छ।’ समर्पण आफू लगायत आफूसंग ब्रोसमा रहेका साथीहरू सकुशल छन्।

आक्रमण भएको स्थानमा उनकै साथीहरू थिए। आईतबारसम्म उनका १७ जना साथीहरू सम्पर्कमा आएका छैनन्। ‘हामीहरु त अहिलेसम्म ब्रोसमा सुरक्षित साथ बङ्कर भित्र बसिरहेका छौँ,’ उनले भने ‘तर आक्रमण भएको स्थानमा हाम्रा धेरै साथीहरू थिए, १७ जना साथीहरू सम्पर्कमा आएका छैनन्, कता छन् थाहा छैन।’

उक्त आक्रमण पछि त्यहाँ लगातार बिष्फोटहरु भइरहेका छन्। बङ्कर भित्र बसिरहेका समर्पण आफ्नो तत्काल उद्धार होओस् भन्ने अपेक्षामा छन्। ‘आकाशमा आगोको मुस्लो संगै ठूलो आवाजमा विस्फोट हुँदा मुटुले ठाउँ छोड्छ,’उनले भने ‘यो त्रास र असुरक्षाबाट मुक्ति खोजिरहेका छौँ, हाम्रो चाँडै रेस्क्यु भइदिए हुन्थ्यो।’ परिवार सँग उनको निरन्तर सम्पर्क भइरहेको छ। दाङमा रहेको उनको परिवारका सदस्यहरू झनै त्रसित छन्।

सुदूर पश्चिम विश्वविद्यालय अन्तर्गत कृषि विज्ञान सङ्कायमा अध्ययनरत दाङ तुलसीपुर हरिपौराका समर्पण ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए। झण्डै एक महिना अघि उक्त विश्व विद्यालय मार्फत इजरायल पुगेका उनी तत्काल उद्धारको पर्खाइमा छन्। ‘रेस्क्यूको कुरा पनि भइरहेको छ,’ उनले भने ‘जति सक्यो चाँडो हामीलाई घर फर्काइदिए हुन्थ्यो, यहाँ बस्न साह्रै गाह्रो छ।’