☰ open Loading... 1 May 2024|  

किरणलाई ‘साधनादेवी प्रहरी पराक्रम’
पश्चिम नेपाल   | १ कार्तिक २०८०, बुधबार ०८:४७

कोसी प्रदेश प्रहरी कार्यालय, विराटनगरले ६८ औं प्रहरी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ। मंगलबार प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयमा रहेको अमर प्रहरी स्मारकमा कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की, प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलालगायतले पुष्पहार अर्पण गर्दै अमर प्रहरीप्रति श्रद्धाञ्जली दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अमर प्रहरीका परिवार, प्रहरीलाई सहयोग गर्ने संघसंस्था, उच्च शिक्षा र एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने पूर्व तथा बहालवाला प्रहरी कर्मचारीका छोराछोरी र उत्कृष्ट कार्य गर्ने प्रहरीलाई नगद तथा कदरपत्र प्रदान गरे।

प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयबाट उत्कृष्ट कार्यालय व्यवस्थापन विद्यामा पुरस्कृत हुने कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई प्रशंसापत्र प्रदान गरियो।

कार्यक्रममा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले भने, ‘नागरिकको सुरक्षामा खटिने प्रहरी पहिले आफू सुरक्षित भए मात्रै अरूलाई सुरक्षा दिन सक्छन्। पहिले उनीहरूलाई सुरक्षित हुने वातावरण बनाउनुपर्छ।’

नागरिकलाई सुरक्षा दिने प्रहरीहरू पूर्वाधारको अभावमा असुरक्षित तवरले बस्न बाध्य भएको बताउँदै मुख्यमन्त्री कार्कीले भने, ‘पहिले प्रहरीलाई सुरक्षित पूर्वाधारको व्यवस्था हुनुपर्छ। डिउटीमा रहँदासमेत पूर्वाधारको असुरक्षा महसुस गर्दै काम गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको सबैलाई थाहा छ। आफू आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा पूर्वाधारको डरबाट मुक्त पार्न सके प्रहरीले अझ उत्कृष्ट सेवा प्रदान गर्न सक्ने विश्वासका साथ इलाका प्रहरी कार्यालय र चौकीहरूको मर्मत तथा नयाँ संरचना प्रदेश सरकारले बनाइदिएको थियो।’

कानुनविपरीत काम गर्नेलाई फोनका आधारमा नछाड्न निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले भने, ‘हामीलाई शान्तिसुरक्षा दिने प्रहरी पहिले सुरक्षित हुनुपर्छ। प्रहरीले शौच गर्न नपाउने, खान नपाउने तर हामीलाई सुरक्षा भएन भन्ने धारणा परिवर्तन गरिनुपर्छ। अहिले पनि संरचना अभावका कारण जीर्ण रहेको दृष्टान्त पेश गर्दै यस्तो अवस्था सुधार गर्न प्रदेश सरकार सक्दो काम गर्ने प्रतिबद्धता जनाउँछु।’

उनले मादक पदार्थ सेवन गर्नेलाई छुटाउन आउने टेलिफोनको वास्ता नगरी कारबाही गर्न भने। कसैले आफै कानुनको उल्लंघन गर्छ भने कारबाही हुनुपर्छ। पहुँचका आधारमा सुरक्षा नदिन उनले निर्देशन दिए।

प्रदेशभरिबाट उत्कृष्ट कार्य गर्ने प्रहरी सहायक निरीक्षक किरण मगरले ‘साधना देवी प्रहरी पराक्रम’ सम्मानपत्रका साथ नगद १ लाख रूपैयाँ पुरस्कार राशि प्राप्त गरे।