☰ open Loading... 21 May 2024|  

जुम्लामा मार्सी धान भित्र्याउन भ्याइ नभ्याई
पश्चिम नेपाल   | २ कार्तिक २०८०, बिहीबार १७:५४

यति बेला जुम्लाका किसानलाई जुम्ली कालीमार्सी धान काट्न चटारो चलिरहेको छ। जुम्लाका ८ वटै स्थानीय तहमा रहेका खेतका फाँटमा कालीमार्सी जातको धान उत्पादन हुन्छ.

धान पाक्न थालेपछि किसानलाई धान काट्न भ्याइ नभ्याई भएको किसान गुठिचौर गाउँपालिका- ५ कि शान्ति कुमारी भण्डारीले बताइन्। जुम्लामा २ हजार ९ सय ५० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाकाले बताए। उनका अनुसार जुम्लामा ६ हजार ३ सय ७७ मेट्रिकटन धान उत्पादन हुन्छ।

राणा शासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँसम्म पुर्‍याउने गरेको चन्दननाथ चन्दननाथ नगरपालिका-४ का ७९ वर्षीय ज्येष्ठ नागरिकहरु तिर्थराज भारती बताउँछन्।

करिब ७ सय वर्षअघि जुम्लीहरुका इष्ट देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ ल्याएको विश्वास गरिन्छ। २०२७ सालमा जुम्लामा स्थापना भएको कृषि अनुसन्धान केन्द्रले १३ वर्षसम्म स्वदेशी तथा विदेशी जातका धानको बिउको अनुसन्धान गरेको थियो। यसको सक्कली बीउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको छ।

मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ। कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन्। त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ।

जुम्लामा धानखेती बेंशी क्षेत्र (समुद्र सतहबाट २ हजार देखि २ हजार २ सय मिटर), मध्य क्षेत्र (समुद्र सतहबाट २ हजार २ सय देखि २ हजार ८ सय मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट २ हजार ८ सय देखि ३ हजार ५० मिटर) मा हुने गरेको छ।

यो धानबाली संसारको सबैभन्दा उच्च स्थान (२ हजार ७ सय ९० मिटर) जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्युलोमा फल्छ। मार्सी धान पाक्न सात महिना पूरै लाग्छ।

पहिले कात्तिक पहिलो सातापछि मात्र धान काट्ने चलन थियो, तर अहिले तापक्रम बढेकाले असोज अन्तिम सातादेखि नै धान काट्न थालिएकाे छ। मार्सी धान खेतीबारे चन्दननाथ बाबाले पुस्तक नै लेखेको खस भाषाविज्ञ रमानन्द आचार्यले बताए।