☰ open Loading... 23 June 2024|  

खत्रीले आठौँ पटक जिते छेलो पहलमानको उपाधि
पश्चिम नेपाल   | ६ कार्तिक २०८०, सोमबार १८:३८

म्याग्दीको धौलागिरि–७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिँदै आएको छेलो फाल्ने प्रतियोगितामा ताकमका अशोक खत्री आठौँ पटक विजयी भएका छन।

आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका ताकमका वडाध्यक्ष समेत रहेका खत्रीलाई आयोजकले पहलमान घोषणा गरेका थिए।

प्रतियोगितामा ताकम र आसपासका गाउँका १८ जना युवाले सहभागिता जनाएका थिए।पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपीठ मानिने ताकमकोतको छेलो प्रतियोगितामा विजयी हुनेलाई सो क्षेत्रमा पहलमान मान्ने गरिन्छ।

हरेक वर्ष महानवमी पर्वको अवसरमा छेलो फाल्ने प्रतियोगिता आयोजना गरेर पहलमान पहिचान गर्ने चलन रहेको छ । खत्रीले आठौँ पटक पहलमानको उपाधि जित्दा यसअघि २०७८ र २०७९ मा विजयी भएका मालिका गाउँपालिका–१ निस्कोटका याम परियार दोस्रो बने।

यसअघि विसं २०७० देखि ७६ सम्म सात वटा उपाधि जितेका खत्रीले २०७८ मा सहभागिता जनाएका थिएन।२०७९ मा यामसँग पराजित भएका थिए। निरन्तरको अभ्यास, शारीरिक व्यायाम र स्वच्छ खानपानले उपाधि जिताउन सहयोग गरेको खत्रीले बताए।