☰ open Loading... 2 May 2024|  

गाजापट्टी र वेस्ट बैंकमा इजरायली सेनाको तीव्र आक्रमण
पश्चिम नेपाल   | ६ कार्तिक २०८०, सोमबार १८:५६

इजरायलले हमास समूहको नियन्त्रण रहेको गाजापट्टीसँगै प्यालेस्टाइन लिब्रेसन अर्गनाइजेसन (पीएलओ) को नियन्त्रण रहेको वेस्ट बैंकमा समेत आक्रमणलाई तीव्र बनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सुरक्षा संयन्त्र आईडीएफले गत ७ अक्टोबरको आक्रमणमा हमासले बन्धक र बेपत्ता बनाएका आफ्ना र विदेशी नागरिकको खोजी गर्ने भन्दै आइतबारदेखि गाजा र वेस्ट बैंक दुवै क्षेत्रमा आक्रमण बढाएको हो ।

इजरायलले आक्रमण बढाएपछि १२३ जना प्यालेस्टाइनीलाई नजरबन्द बनाएको जनाइएको छ । समाचार एजेन्सी वाफाका अनुसार गाजापट्टीका ४० जना कामदारसहित कम्तीमा १२३ प्यालेस्टाइनीलाई इजरायली सेनाले आइतबार रातभरदेखि बिहानसम्म छापा मारेर पक्राउ गरेको छ ।

इजरायलले ती छापामा ३७ ‘हमास सदस्यहरू’ पक्राउ परेको बताएको छ ।

इजरायलले गाजापट्टीको बारको पश्चिम क्षेत्रमा रहेका आतंककारी र हतियारलाई उत्त क्षेत्रबाट खाली गर्न र बन्धकहरूलाई खोज्न आˆनो सेनाले प्रयास गरेको दावी गरेको छ ।

हमासले मिसाइल प्रहार गरेर आफ्ना एक जना सिपाहीको मृत्यु र तीन जना घाइते भएपछि उक्त छापा मार्नु परेको तर्क इजरायलको छ ।

हमासले दक्षिणी गाजाको खान युनिसको पूर्वी भागमा इजरायली सैनिक प्रवेश गरेको जनाएको छ । त्यसभन्दा पहिले इजरायली सेनाले प्यालेस्टिनीहरूलाई आफ्नो सुरक्षाको लागि उक्त क्षेत्र छाड्न भनेर केही मिनेटको समय दिएको जनाइएको छ ।

इजरायली सुरक्षा संयन्त्र आइडीएफका प्रवक्ता ड्यानियल हगारीले इजरायलले गाजामा थप आक्रमण गरेको स्वीकार गरेका छन् ।

‘रातको समयमा ट्याङ्क र स्थल सेनाले छापा मारेको थियो । यी छापाहरू युद्धको अर्को चरणको लागि तयारी गरिरहेका आतंककारीहरूको टोलीलाई मार्ने उदेश्यले गरिएका थिए’, हगारीले भनेका छन्, ‘यसबाट हामी आतंकवादीहरूको नजिकसम्म पुग्ने छौं । हाम्रो उद्देश्य बेपत्ता र बन्धक बनाइएका हरूको गुप्तचरी सूचनाको आधारमा फेला पार्नु पनि हो ।’