☰ open Loading... 14 December 2024|  

अनिताको नरोकिएका आँशु…
पश्चिम नेपाल   | २३ कार्तिक २०८०, बिहीबार १४:२३

भूकम्पले घुँडामा दिएको घाउ निको पार्न त्रिपाल बाहिर सालको बोक्रा पकाउँदै छिन्। औषधि उपचार कहाँ गएर गर्ने, कसरी गर्ने पत्ता नभएकाले नजिकैको बारीबाट सालको बोक्रा टिपेर घुडामा काटिएको भागमा लगाएसी निको हुन्छ भन्ने रिम्नाकी अनिता विकको बुझाइ छ।

निलो बुट्टेदार सुरुवाल र हल्का रातो बुट्टेदार कुर्ता लगाएकी अनिताको अनुहारमा पीडा प्रष्ट देखिन्छ। घुडामा चोट लागेको देखाउँदै उनले भनिन्, ‘भूकम्पले यस्तो काटिएको छ। हिँड्न गाह्रो भा छ। त्यसैले सालको बोक्रा पकाउँदै छु।’

गहभरि आँशु लिएर रुदै उनले सुनाइन्, ‘भएको एउटा आम्दानीको स्रोत पनि गुम्यो। केही बाँकी रहेन। न खेतबारी छ न त, जग्गा जमिन नै। दैवले सबै खोस्यो। जीवनभर गरेको कमाई पनि गुम्यो।’

उमेरले ३२ वर्ष पुगेकी अनितालाई सालको बोक्रा किन पकाउन लाग्नुभयो भनेर सोध्दा उनी भक्कानिन्। जाजरकोटको भेरी नगरपालिका–१ को रिम्ना बजार रुकुम पश्चिम–१४ को जुमु बजार छुट्याउने भेरी नदीमाथि पक्की पुल छ। रुकुमतर्फको पक्की पुल छेउमा उनी चिया–नास्ता पसल गर्दै आएकी थिइन्। तर, गत शुक्रवार राति आएको भूकम्पले अनिताको नास्ता पसल भएको घर भत्कियो। श्रीमान कमलसँगै उनी घरभित्रै च्यापिइन्।

घरभित्र च्यापिएको विक दम्पत्तिले पत्तो पाएनन्। कसले घरभित्रबाट निकाल्यो पनि सम्झना छैन्। होसमा आउँदा उनको बायाँ खुट्टामा पीडा भइरहेको थियो। अहिले उनको शरीर सुन्निएको छ। आम्दानीको एकमात्रै स्रोत पनि गुमेपछि उनको पीडा झन् थपिएको छ। ३४ वर्षका श्रीमान्को अवस्था भने सामान्य नै छ। भाग्यले उनका सन्तान एक छोरा र एक छोरी भने सकुशल नै छन्। किनकी उनीहरू भूकम्पको बेला मामाघर गएका थिए।

त्यतिले पनि पुगेन छ, र जुमुबाट रिम्ना आउँदा उनले अर्को दुःखद खबर सुनिन्। भदैनी सरिता विकको भुकम्पले मृत्यु भइसकेको थियो। ‘उतिबेला मेरो चोट भन्दा भदैनीको मृत्युले ठूलो पीडा दियो,’ अनिताले भनिन्, ‘त्यति बेला सबै घाइतेहरुलाई सरकारले उद्दार ग¥यो, भदैनीको अन्तिम संस्कार गर्नुपर्ने भएकाले मैले उपचार गर्न पाइँन्।’

अनिताको बायाँ खुट्टा सुनिएको छ। घाउमा मल्हम लगाइदिने रिम्नामा कोही आएका छैनन्। अनिता भुकम्पले दिएको घाउमा लगाउनका लागि सालको बोख्रा पकाउँदै थिइन् । ‘औषधि गर्न अस्पतालसम्म जानका लागि पनि भाडा छैन्, हिँडेर जान सक्दिन्,’ अनिताले भनिन्, ‘त्यहीँ भएर सालका बोख्रा पकाउँदैछ।’

उनले यसो भनिरहँदा नजिकैको चिल्लो सडकमा मेडिकल सामाग्री बोकेका गाडीहरू गुडिरहेका थिए। पसल र रिम्नाको घर भत्किएपछि पुल छेउकै खुल्ला चौरमा दाताले दिएको एकसरो पालमा उनको बास छ। अवस्था बुझ्न दिनमै सयौं मानिसहरू उनीसँग आउँछन्। तर, उपचारका लागि सहयोग कसैले गरेका थिएनन्।

भूकम्प प्रभावित क्षेत्रका महिला उद्यमी र उद्योगी–व्यवसायीहरूको समस्या बुझ्न पुगेकी महिला उद्यमी महासङ्घ नेपालका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य शोभा ज्ञवालीले अस्पतालसम्म पुगेर उपचार गर्नका लागि केही आर्थिक सहयोग गरिन्। ज्ञवालीले उपचारका लागि आर्थिक सहयोग गर्दा अनिताले आँशु रोक्न सकिनन्। ‘खुट्टा चलाउनै मिल्दैन्, अवस्था बुझ्न धेरै आउनुभयो, कसैले पनि उपचार गर भनेर सहयोग गर्नु भएको थिएन्,’ उनले भनिन्, ‘अव अस्पताल गएर उपचार गराउन सक्ने भएँ।’