☰ open Loading... 26 July 2024|  

जनकपुरधाममा छठको रौनक
पश्चिम नेपाल   | ३ मंसिर २०८०, आईतवार १४:५३

मधेस प्रदेशको राजधानी जनकपुरधाममा छठको रौनक छाएको छ । यहाँका छठ घाटहरू गङ्गा सागर, धनुषा सागर, अङ्गराजसर, दशरथ तलाउ, अग्नि कुण्डसहितका पोखरीहरू सिँगारिएर चिटिक्क बनाइएका छन् ।

छठ पूजाको तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिन छठ घाटमा ब्रतालुहरु पुगेका छन् । व्रतालुले आज अस्ताउँदो सूर्यलाई ठेकुवा, भुसवा, नरिवल, केरा, अदुवा, फलफूलसहितका विभिन्न परिकारहरूको अर्घ अर्पण गर्ने प्रचलन छ ।

स्थानीय युवा क्लब र संघसंस्थाहरुको सक्रियतामा पछिल्लो एक सातादेखिको तयारीपछि घाटहरू सुन्दर एवं आकर्षक बनाइएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने विश्वास छ । परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।