☰ open Loading... 25 November 2024|  

जनतालाई चामल खुवाउन ‘हेली चार्टर’
पश्चिम नेपाल   | २९ पुष २०८०, आईतवार १३:४६

जनतालाई चामल वितरण गर्न हेलीकप्टर चार्टर गरिएको छ । हुम्लामा खाद्य संस्थानले हिउँ पर्नुअघि जनताको घरघरमा चामल झार्नका लागि हेली चार्टर गरेर चामल उपलब्ध गराएको हो ।

चामल अभाव नहोस् भनेर सुर्खेतबाट गाडीमा हुम्लाको सार्केघाट गाउँपालिकाको सालतडीमा स्टोर गरेर त्यहाँबाट हेलीकप्टरले ढुवानी गर्ने गरेको छ । हेली चार्टर गरेर चामल हुम्ला सदरमुकाम सिमकोट पुगेसंगै विभिन्न पालिकाहरुबाट चामल लिन आउने गर्दछन् । जसका कारण हिउँ पर्नुअघि जनताहरुको घरघरमा चामल पुगीसक्ने बताईएको छ ।

हुम्लामा चामल अभाव हुन थालेसंगै सिम्रिक एयरको हेलीकप्टरबाट चामल लग्न थालिएको हो । सिमकोट गाउँपालिकाभर र अन्य पालिकामा सिमकोटबाट सडक मार्फत चामल वितरणका लागि खाद्य संस्थानले सडक नहुँदा हेलिकप्टर मार्फत चामल लगेको हो । सिमकोट गाउँपालिका अन्य पालिकामा सिमकोटबाट वितरण गर्ने गरि हेलिकप्टर चार्टर गरेर चामल ओसार्ने गरेको ब्यवसायी विजय लामाले बताए । सार्केघाट गाउँपालिकाको सालतडीबाट दैनिक २३ पटकसम्म हेलीले चामल सिमकोटसम्म बोक्ने गरेको छ । सालतडीबाट हुम्ला सिमकोटसम्म सडक सञ्जाल जोड्न १२ सय मिटर बाँकी रहेको छ । भिरालो र जोखीम हिड्ने बाटो भएकाले हेलीको लागि दुरी नजिक हो । हेलिबाट सिमकोटका ८ वटा वडासहित हुम्लाका विभिन्न गाउँपालिकामा खाद्य संस्थानमा चामल पाउने गर्दछ ।

हुम्लामा हिमपात हुनुअघि कम्तिमा तिन महिनाको लागि चामल खाद्य संस्थान मार्फत स्थानीयले घरघरमा लगिसक्नुपर्ने स्थानीय नन्दकुमार सिंहले बताए । ‘यसपाली हिउँ खासै पर्न सकेको छैन् ।’ स्थानीय सिंहले भने, हिमपात हुनुअघि चामल लगायतका अत्यावश्यक कुराहरु घरमा राखिसक्नुपर्छ ।’ राष्ट्रिय सडक सञ्जाल सुर्खेत, दैलेख हुँदै कालिकोट, बाजुरा हुँदै हुम्ला सदरमुकाम नजिक पुगेको छ । हुम्ला सदरमुकामबाट सडक खनिएपनि कडा चटान भएको ठाँउमा फोड्ने काम भईरहेको छ । जोड्न बाँक रहेको १२ सय मिटर भाग निर्माण भए हुम्ला सदरमुकाम गाडी पुग्छ । अँझ ६ महिनादेखि १ वर्ष ट्याक खोल्न लाग्ने जनाईएको छ ।