☰ open Loading... 17 May 2024|  

हिंसाकै बिच पाकिस्तानमा आज आम निर्वाचन
पश्चिम नेपाल   | २५ माघ २०८०, बिहीबार ०९:४२

पाकिस्तानमा आम निर्वाचनका लागि आज मतदान हुँदै छ । निर्वाचनको पूर्वसन्ध्यामा बुधबार पनि हिंसाका घटना भएका छन् । बलुचिस्तान प्रान्तमा निर्वाचन कार्यालयलाई लक्षित गरी दुई वटा बम विस्फोट हुँदा कम्तीमा पनि ३० जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।

पूर्वप्रधानमन्त्री नवाज सरिफलाई सेनाको समर्थन रहेको विश्वास गरिएको छ भने पूर्व प्रधानमन्त्री इमरान खान जेलमा रहेकाले शरीफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) चुनावमा सबैभन्दा ठुलो पार्टी बन्न सक्ने आकलन गरिएको छ ।

खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का उम्मेद्वार सर्वोच्च अदालतले आफ्नो पार्टीको चुनावी चिन्ह क्रिकेट ‘ब्याट’ हटाउने निर्वाचन आयोगको निर्णयलाई समर्थन गरेपछि स्वतन्त्र रूपमा चुनाव लडिरहेका छन् । ७४ वर्षीय सरिफले बिहीबार हुने निर्वाचनमा कीर्तिमानी चौथो कार्यकाल प्रधानमन्त्री बन्ने लक्ष्य राखेका छन् ।

बिलावल भुट्टो–जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) पनि प्रतिस्पर्धामा रहेको छ । बिलावल भुट्टो जरदारीलाई पार्टीले प्रधानमन्त्री पदको रुपमा घोषणा गरेको छ ।

पाकिस्तानको निर्वाचन आयोगले गत वर्षको डिसेम्बरमा निर्वाचन गराउने कार्यतालिका जारी गरेको थियो । पाकिस्तानमा आम निर्वाचनका लागि करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यस चुनावमा १२.८५ करोड बढी मतदाताहरू रहेका छन् ।