☰ open Loading... 2 May 2024|  

चोरीतस्करीमा भन्सार कर्मचारी र सुरक्षाकर्मीकै संलग्नता
पश्चिम नेपाल   | १३ फाल्गुन २०८०, आईतवार १०:०८

सरकारले विदेशबाट नेपाल भित्रिने एक सयभन्दा बढीको सामानमा भन्सार कर लगाउने निर्णयले सीमावर्ती बजारका व्यापारी उत्साहित थिए।

भन्सार नाकामा कडाइ हुँदा सीमावर्ती नेपाली बजारमा उत्पादनको माग वृद्धि र स्वदेशमा वैध कारोबार प्रोत्साहित हुने वातावरण बन्ने स्वदेशी व्यवसायीको अपेक्षा थियो।

तर, सीमा क्षेत्रबाट भित्रिने सयभन्दा माथिका सामानमा पनि भन्सार तिर्नुपर्ने नीतिगत व्यवस्था कार्यान्वयन नहुँदा स्वदेशी व्यापारी ठूलो मारमा परेका छन्। यसको प्रभाव नेपाली बजारमा मात्र होइन, बर्सेनि राज्यले संकलन गर्ने अर्बौँ राजस्वमा समेत चुहावट भएको छ।

भन्सार तिरेर भन्दा चोरी तस्करी गरेर धेरै सामान सीमा क्षेत्रबाट आउने गरेको व्यवसायी बताउँछन्। पश्चिम नेपालको प्रमुख नाका जमुनाहमा क्यारिङकै राज छ।

यहाँ खटिएका भन्सार कर्मचारी र सुरक्षाकर्मीहरूको मिलेमतोमा भारतीय बजारबाट सहजै भन्सार छलीका सामान नेपालगन्ज भित्रिने गरेको गुनासो नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीले बेलाबेला सार्वजनिक मञ्चहरूमा राख्दै आएका छन्।

दैनिक कति नेपाली उपभोक्ता भारतीय बजार रुपैडिया जान्छन् ? उनीहरुले कतिसम्मको कारोबार गर्छन् ? र कति राजस्व चुहावट भएको छ ? यसलाई तथ्यगत रुपमा हेरौँ।

सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक रुपमा १२ हजार पाँच सय नेपाली उपभोक्ता किनमेलका लागि जाने गरेका बाँकेका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सीमा सुरक्षा पोष्टको प्रतिवेदनमा उल्लेख छ।

उनीहरुले एक पटकमा न्यूनतम एक हजार पाँच सयदेखि ३० हजार रुपैयाँसम्मको सामान खरिद गर्ने गरेको र औषतमा दैनिक पाँच हजार रुपैयाँ बराबर खर्च गर्ने गरेको पाइन्छ।

यो तथ्याङ्कको आधारमा नेपालगन्जस्थित जमुनाहा नाकाबाट हरेक दिन ६ करोड २५ लाख रुपैयाँ बाहिरिने गरेको छ।

नेपालगन्ज उद्योग वाणिज्य संघले २०८० असोज १५ गते एक घण्टामा दुई हजार ६ सय ९४ जना जमुनाहा नाकाबाट भारत प्रवेश गरेको तथ्याङ्क संकलन गरेको थियो।

यो तथ्यांकलाई आधार मान्दा दिनको १० घण्टा सीमा खुल्दा २६ हजार नौ सय ४० जना भारतमा किनमेल वा श्रम गर्न गएको देखिन्छ। फर्कँदा हरेक व्यक्तिले औसतमा पाँच हजार रुपैयाँ बराबरको सामग्री लिएर आएको पाइएको थियो।

चाडपर्वका बेलामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट दैनिक ४० हजार जना किनमेलका लागि छिमेकी भारतीय बजार जाने गरेको सीमामा खटिएका प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

सीमा नाका व्यवस्थित र प्रविधिमैत्री नहुँदा उल्लेखित भारतमा किनमेल गर्ने नेपालीले यो वा त्यो बहानामा राज्यलाई तिर्नुपर्ने कर नतिरेको र खटिएका प्रहरीको आँखा छलेका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले बताए। जसले दैनिक करोडभन्दा बढी राजस्व चुहावट भएको उनको भनाइ छ।

नेपालगन्ज भन्सार कार्यालयले जमुनाहा नाका क्षेत्रमै कम्तीमा पनि ३० वटा भन्सार काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएर छिटोछरितो कर असुली गरेमा आयात गरिने सामानमा औसत २३ प्रतिशतका दरले मात्र भन्सार महसुल संकलन हुँदा पनि यो नाकाबाट दैनिक एक करोड ४३ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन हुने उनको भनाइ छ।

नेपालगन्ज उद्योग वाणिज्य संघले तत्कालै भन्सार काउण्टरको संख्या वृद्धिका लागि पहल गर्न पनि माग गरेको छ।

सय रुपैयाँभन्दा बढीको सामान आयात गर्दा भन्सार महसुल तिर्नुपर्ने प्रावधानलाई प्रभावकारी बनाउँदा मात्र बर्सेनि गुमेको अर्बौँ राजस्व नियन्त्रण हुने उद्योगीको भनाइ छ।

साथै मुख्य नाका जमुनाहसँगै खुला सीमाका कारण भित्री नाकाबाट समेत दैनिक करोडौं रुपैयाँ बराबरको सामान चोरी तस्करी हुँदै आएको छ।

माघमा २३ लाख १४ हजार दुई सय १२ रुपैयाँ राजस्व उठाउने लक्ष्य भए पनि जम्मा १३ लाख १८ हजार एक सय २२ रुपैयाँ मात्र राजस्व संकलन भएको छ।

साउन यता कुनै पनि महिना लक्ष्य अनुसार राजस्व संकलन भएको छैन। दैनिक ठूलो परिणाममा नेपालगन्ज सामान भित्रिने गरे पनि राजस्वले भने लक्ष्य भेटाउन सकेको छैन।

भन्सारबाट हुने चोरी तस्करीको विषय पेचिलो हुँदै आएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए।

सीमा सुरक्षाको विषय गृह मन्त्रालय अन्तर्गत भएपनि राजस्व र भन्सार जोडिएकोले अर्थ मन्त्रालयसँग पनि सम्बन्धित भएको बताएका छन्।

यस विषयमा अर्थ मन्त्रालयसँग समन्वय गरेर सीमाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न सम्बन्धित जिल्लाका सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएको उनको भनाइ छ।

नागरिकन्यूजबाट