☰ open Loading... 2 May 2024|  

हिउँमा फसेका ८ जनाको उद्धारका लागि हेलिकप्टर जाँदै
पश्चिम नेपाल   | २३ फाल्गुन २०८०, बुधबार १७:१७

जुम्लामा जडीबुटी सङ्कलनका लागि पाटन गएका ८ जना हिउँमा फसेर अलपत्र परेका छन्।

जिल्लाको तातोपानी गाउँपालिका-७ बारागाउँका आठ जना स्थानीय हिउँ जमेपछि गिडिखोलाको धप्के पाटनमा अलपत्र परेका हुन्। उनीहरूमध्ये ६ महिला र २ पुरुष छन्।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाइले हिउँमा फसेकाहरूको उद्धारका लागि पहल भइरहेको जानकारी दिए। ‘हामीले हेलिकप्टरको व्यवस्थापन गरिदिन स्थानीय प्रशासनलाई अनुरोध गरेका छौं, हेलिकप्टर आउँदै छ।’ उनले नागरिक न्युजसँग भने।

उनका अनुसार सोमबार दिउँसो पाटनमा अलपत्र परेका अत रावतसँग फोनमा सम्पर्क भएको थियो। रावतले भनेका थिए ‘हामी सुरक्षित छौँ, खाना पनि छ। कुनै जोखिम छैन।’

मंगलबार गाउँका मानिसहरु उनीहरूको उद्धारका लागि आधा बाटो सम्म पुगेका थिए। तर लेक एकदमै बाक्लो भएकाले सम्बन्धित ठाउँ सम्म पुग्न सकेनन्। त्यसपश्चात् गाउँलेहरूको उनीहरूसँग सम्पर्क हुन सकेको छैन।

यता जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले हिउँमा फसेकाहरु लागि उद्गार गर्न सरकारलाई हेलिकप्टर व्यवस्था गरिदिन पहल गरिएको बताए।

हिउँमा फसेर अलपत्र पर्नेहरूमा अत रावत, संसार थापा, दिपा रावत,गोरी रावत मुछलदेउ, हरिशोभा रावत, शसिला रावत, गोरी रावत र जगमती रोकाया बारागाउँका स्थानीय रहेका छन्।