☰ open Loading... 14 April 2024|  

कुप्रथा विरुद्ध बलियो पर्खाल
पश्चिम नेपाल   | २५ फाल्गुन २०८०, शुक्रबार १५:२९

सदियौंदेखिको धार्मिक अन्धविश्वास, लैंगिक र सामाजिक विभेद विरुद्ध बोल्न कहाँ सजिलो थियो र ? तर, उनले बोल्ने मात्रै होइन, अभियान नै चलाइन् । परिवार र समाजसँग लडिन्, सुरुवात आफैंबाट गरिन् ।

उनले सुरुमा सामाजिक जागरणको वातावरण बनाइन् । त्यसलाई अभियानको रूप दिइन् । सरिया कानुनलाई कट्टर रूपमा पालना गर्ने मुस्लिम समुदायभित्रैबाट सुधारको शंख बजाइन् । ‘मैले यहाँसम्म पुग्न निकै पीडा र दुःखका पहाड चढेकी छु’, उनले भनिन् ।

कुरा २०६५ सालको हो, उनले समाजमा राम्रो काम गरेको भनेर ५० हजार रुपैयाँ राशिको एउटा पुरस्कार पाइन् । त्यो कुरा समुदायभर फैलियो । केही मानिसले ‘खैरुनले परिवार नियोजनबारे समुदायको कुरा मिडियामा भनेको’ भनेर होहल्ला गरे, अनि माफी मगाउने निर्णय गरे ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बेलघारीमा २८० मुस्लिम घरधुरी छन् । बस्तीको सिरानमा नेपाली सुन्नी गुल्सने मदिना अध्ययन केन्द्र छ, जुन मस्जिद हो । एक दिन उनलाई त्यही मस्जिदमा बोलाइयो । समुदायका अगुवा, धर्मगुरु, महिलाको उपस्थितिले मस्जिद खचाखच भरिएको थियो ।

गोलो घेरामा बसेका उनीहरूले खैरुनलाई बीचमा राखे । समाजको धार्मिक प्रचलनका बारेमा मिडियामा बोलेको भनेर उनलाई घुँडा टेकाएर माफी माग्नुपर्ने फैसला मौलानाले सुनाए । मुस्लिम समुदायले पनि परिवार नियोजनका अस्थायी साधनहरू उपयोग गर्न थाले भनेर मिडियालाई भन्नु नै उनको अपराध थियो ।

‘घुँडा टेकाएर सामाजिक धर्म अनुसार बस्छु भन्न लगाइयो’ उनले भनिन्, ‘मैले मस्जिदमा घुँडा टेकें तर माफी मागिनँ । बरु मलाई गोली हान, म तयार छु भनिदिएँ ।’

थाहा नै थियो कि– पुरुष र धर्मगुरुहरू उनको विरुद्ध थिए । तर त्यहाँ भएका महिलाको साथ आफूले पाउने खैरुनको अपेक्षा थियो । ‘उल्टै महिलाहरू पुरुषभन्दा चर्का कुरा गर्न थाले, गाउँलेले पनि मौलानाको स्वरमा स्वर मिलाए’, उनी भन्छिन् । मेरो पक्षमा एक जना मान्छे उभिए, ती मेरा श्रीमान् थिए ।’

अहिले बेलघारी सुर्खेतकी खैरुन पेशाले महिला स्वास्थ्य स्वयंसेविका हुन् । यति कठोर संघर्षको परिणाम अहिले उनको परिचय फेरिएको छ । खैरुन आजभोलि मुस्लिम अधिकारकर्मीका रूपमा परिचित छिन् । एक व्यक्तिको अठोटले वीरेन्द्रनगर-१० को बेलघारी गाउँ मात्रै होइन महिला अधिकारका बारेमा समुदायको बुझाइ नै बदलिएको छ ।

पहिला झगडा गर्न आउनेहरू अहिले घरमै आएर चाहेको परिवारको नियोजनका साधन लिन्छन् । ‘अहिले यहाँको मुस्लिम समुदायमा परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने कुरा सामान्य भएको छ । स्थायी बन्ध्याकरण भने अझै पनि हुनसकेको छैन’, उनले भनिन् ।

गोठालोदेखि अभियन्तासम्म

समुदायमै यो विघ्न परिवर्तन आउनुमा खैरुन निशा सैयदले भोगेको हैरानी र गरेको संघर्षले ठूलो काम गरेको छ । बुवा मदार बक्स र आमा जोहोरा विविकी जेठो सन्तान हुन् खैरुन । उनको संघर्षको सुरुआत त्यतिबेलै हो, जतिबेला भाइबहिनीहरू लस्करै स्कूल जाँदा उनी गोठालो जान्थिन् ।

उनलाई स्कूल पठाउन बुवा तयार थिएनन् । समुदायमा छोरीलाई पढ्न पठाउने चलन नै थिएन । भाइबहिनी पढ्न जाने तर आफू पढ्न नपाउने कुराले उनको मनमा विद्रोह जाग्यो । उनले भनिन्, ‘एकै घरका सन्तान कोही शिक्षा लिने, कोही गोठालो हुने ? भनेर बुवासँग झगडा गरें । बुवा पनि सितिमिति तयार हुनुभएन । रुँदै–रुँदै जबरजस्ती स्कुल गएपछि हेडसरले नाम लेखाइदिनुभो ।’

तत्कालीन श्री चन्द्रगंगा प्रावि गाग्रेतालमा टीकाराम सुवेदी प्राचार्य थिए । उनैले नै खैरुनलाई कक्षा ५ सम्म निःशुल्क पढाइदिने भनेपछि बुवाले नचाहेर पनि स्कुल पठाए । कमजोर आर्थिक अवस्थाका कारण उनले कहिल्यै विद्यालय पोशाक लगाउन पाइनन् ।

खैरुन १ देखि ५ कक्षासम्म प्रथम भइन् । हरेक अतिरिक्त क्रियाकलापमा उनी कहिल्यै दोस्रो भइनन् । तर पाँच कक्षा पास भएपछि उनको पढाइ रोकियो । ‘६ कक्षा माथि पढ्न शुल्क तिर्नुपथ्र्यो । शुल्क तिर्ने क्षमता थिएन’ उनले भनिन्, ‘फेरि गोठालो भएँ ।’

२०४१ सालमा उनकी आमाको मृत्यु भयो । आमा अस्पतालको बेडमा थला परेकै बेला बुवा दोस्रो बिहे गरेर अलग भए । आमाको मृत्यु र बुवाको दोस्रो बिहेपछि एक्लिएकी खैरुनको पढाइ पनि रोकियो । १३ असार २०४१ मा १३ वर्षको उमेरमा उनको मोहम्मद इसाक दिनसँग विवाह भयो ।

‘बाँच्नु मात्रै पर्छ, जिन्दगीले परीक्षा बारम्बार लिन्छ’ गहभरी आँसु पार्दै खैरुनले अनलाइनखबरसँग भनिन्, ‘१३ वर्षकी हुँदा माइला काकाले बिहे गरेर पठाइदिए । त्यसपछि अर्को संघर्ष सुरु भयो ।’

५ वर्षसम्म बच्चा नजन्मिएपछि श्रीमान्सँग पनि झगडा हुन थाल्यो । ‘५ वर्षसम्म मैले कहिल्यै पनि बुहारीको दर्जा पाइनँ’ उनले भनिन्, ‘खाना पकाउने, भाँडा माझ्ने, गोठालो जाने, सबैको सेवा गर्ने मेरो काम थियो ।’

अत्याचारले सीमा नाघेपछि एकदिन उनी घर छोडेर माइती गइन् । ‘जब ठूली छोरी गर्भमा थिइन्, तब हाम्रो सम्बन्ध सुध्रियो’ उनी भन्छिन्, ‘लगातार ५ छोरी जन्मिए, समाजले छोरा चाहिन्छ भने पनि श्रीमान्ले कुनै तनाव दिनुभएन, यस मामिलामा श्रीमान्बाट नसोचेको साथ पाएँ ।’

२०५२ सालमा जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले उनको बस्तीमा महिला स्वास्थ्य स्वयंसेविकाको खोजी गर्‍यो । गाउँमा पढे–लेखेका महिला थिएनन् । ५ कक्षासम्म पढेकी उनले स्वयंसेविका बन्ने अवसर पाइन् ।

‘स्वयंसेविका छनोट हुनु नै मेरा लागि ठूलो अवसर बन्यो । वार्षिक १५० रुपैयाँ भत्ता थियो । अहिले जस्तो पोशाक, यातायात खर्च, प्रोत्साहन भत्ता पाइन्थेन । उनी भन्छिन्, ‘यो कामसँगै त्यसबेला घर खर्च चलाउन गाउँगाउँ डुलेर कस्मेटिक सामान र माछा बेच्थें ।’

परिवार नियोजन, तलाक र प्रौढ शिक्षा

विस्तारै उनी सार्वजनिक कार्यक्रममा जान थालिन् । अन्य समुदायका महिलासँग घुलमिल भइन् । उनीहरूले बोलेका कुरा सुनिन्, गरेका काम देखिन् । अनि सुरु भयो आफ्नो समुदायभित्रका कुप्रथा विरुद्ध विद्रोह ।
स्वयंसेविका भएपछि बालबालिकालाई विभिन्न खोप, भिटामिन ए, पोलियो थोपा खुवाउने कार्यक्रमदेखि समुदायमा परिवार नियोजनका साधनहरूको वितरणसम्मका कामहरू गर्थिन् । डिपोप्रोभेरा सुई स्वास्थ्य संस्थामै लगाउन जानुपथ्र्यो । पिल्स, कण्डम लगायत साधन घरबाटै दिन्थिन् ।

मुस्लिम समुदायमा सन्तान जन्माउन रोक्नु धर्मविरोधी कुरा मानिन्थ्यो । तर उनी स्वयंसेविका भएपछि आफ्नै समुदायलाई लक्षित गरेर परिवार नियोजनबारे चेतना फैलाउन लागिन् । बस्तीमा परिवार नियोजन, शिशु जन्मान्तरको कुरा गर्दा महिला–पुरुष सबै खैरुन माथि एकसाथ खनिन्थे ।

विस्तारै समुदायका महिलालाई आफैं स्वास्थ्य संस्थामा लगेर परिवार नियोजनका अस्थायी साधन दिएर पठाउन थालिन् । ती महिलाका श्रीमान्हरू खैरुनसँग झगडा गर्न घरमा आउन थाले । यसरी खैरुनले सामाजिक विरोध झेल्दै गर्भ जाँच अभियान पनि चलाइन् ।

उनले अभियान चलाएको अर्को क्षेत्र तलाक हो । मुस्लिम समुदायमा मौखिक रूपमा सम्बन्धविच्छेदका घटना हप्तैपिच्छे हुन्थे । यसका लागि कानुनी प्रक्रिया आवश्यक मानिंदैनथ्यो । कुनै पुरुषले श्रीमतीलाई तीन पटक ‘तलाक’ भनेकै भरमा सम्बन्धविच्छेद हुन्थ्यो ।

महिला कुनै अंश वा न्याय विनै रित्तोहात माइती फर्कनुपथ्र्याे । यो हिंसा हो, महिलामाथि घोर अन्याय हो भन्नेमा उनी दृढ थिइन् । त्यसपछि उनले तलाक दिने पुरुषहरू विरुद्ध अभियान चलाइन् । ‘हप्तैपिच्छे कुनै पुरुषले श्रीमतीलाई तलाक दियो भनेको सुनिन्थ्यो । अति पीडा हुन्थ्यो’ उनले भनिन्, ‘हाम्रो धर्ममा त सम्बन्धविच्छेदको प्रक्रिया पो लेखेको होला त श्रीमतीलाई जतिबेला पनि पशुले जस्तै गरी छोड्ने त लेखेको छैन होला भनेर म तलाक विरुद्ध लागें ।’

तँलाइ अर्काको घरबारमा किन चासो ? अरूको घरबार बिगार्ने भन्दै पुरुषहरू धम्क्याउन आउँथे तर पनि उनले हिम्मत हारिनन् । ‘मेरो समाजले महिलालाई जनावर बनाएको महसुस भयो’ उनले भनिन्, ‘केही महिला तलाक गलत हो भन्थे तर मलाई साथ दिन डराउँथे ।’

जीवनबाट उनले के सिकिन् त ? निशा भन्छिन्, ‘वर्षौंदेखि जकडिएको धार्मिक अन्धविश्वास हटाउन सजिलो छैन । तर निरन्तर लागे सकिने रहेछ ।’
एकपटक उनले तलाक पाएकी एक महिलालाई घरेलु हिंसामा लोग्ने विरुद्ध मुद्दा दिन लगाइन् । अदालतले महिलाका पक्षमा फैसला गर्‍यो । पुरुष कारागार चलान भए । फेरि अंश सहित सम्बन्धविच्छेद र बालबच्चाको लालनपालनको खर्च पाऊँ भनेर मुद्दा दिन लगाइन् । अदालतले महिलाकै पक्षमा फैसला दियो ।

‘त्यसपछि मलाई बल्ल थाहा भयो कि यो देशमा न्यायालय छ, कानुन छ । सब त्यहाँसम्म पुग्ने बाटो भने आफैंले खोज्नुपर्ने रहेछ’ उनले भनिन्, ‘त्यसपछि अन्यायमा परेका हरेक महिला दिदीबहिनी मकहाँ आउन थाले ।’ हालसम्म २५/२६ जना महिलालाई तलाकबाट जोगाएको उनको भनाइ छ ।

उनको अर्को योगदान भनेको प्रौढ शिक्षा हो । २०५३ सालमा उनले समुदायका निरक्षर व्यक्तिलाई अनौपचारिक शिक्षा दिन नेतृत्व गरिन् । यसै पनि सिंगो समुदाय शिक्षामा कमजोर थियो, साक्षर महिला त नगन्य थिए ।

खैरुन निशाकै पहलमा एउटा गैरसरकारी संस्थाले उनको समुदायमा अनौपचारिक शिक्षा कार्यक्रम लग्यो । पढाउन सक्ने मान्छे खोज्दा उनकै नाम आयो । नाम लेख्न नसक्ने, सामान्य हिसाब–किताब गर्न नसक्ने महिला ६ महिनामा साक्षर बने ।

विस्तारै उनीहरू छलफलमा खुलेर सहभागी हुन र आफ्ना विचार राख्न थाले । हाल समुदायमा पाँच वटा वित्तीय समूह छन् । ती समूह मुस्लिम महिलाले नै नेतृत्व गरेको खैरुन बताउँछिन् ।
अशिक्षा र धार्मिक अन्धविश्वासमा रुमल्लिएको मुस्लिम समुदायको चेतना र विकासको दियो बाल्ने निशाले यति धेरै काम गर्दा के पाइन् त ? ‘मैले केही पाएको जस्तो पनि लाग्छ, केही पाएकी छैन भन्ने पनि लाग्छ, पैसा कमाउन सकिनँ होला, प्रतिष्ठा कमाएकी छु ।’

जीवनबाट उनले के सिकिन् त ? निशा भन्छिन्, ‘वर्षौंदेखि जकडिएको धार्मिक अन्धविश्वास हटाउन सजिलो छैन । तर निरन्तर लागे सकिने रहेछ ।’

अनलाईनखवरबाट