☰ open Loading... 3 May 2024|  

स्थगित भएको दैलेख महोत्सव बलमिच्याईले चलाईयो
पश्चिम नेपाल   | १ चैत्र २०८०, बिहीबार १५:४२

चैत्र १ गते दैलेख महोत्सवको समापन गर्ने गरि नारायण नगरपालिका र जिल्ला प्रशासन कार्यालयले दिएको अनुमति लत्याउदै आयोजक दैलेख उद्योग वाणिज्य संघले आज (बिहिवार) सांस्कृतिक कार्यक्रमसहित महोत्सव सञ्चालन गरेको पाईएको छ । आयोजकले पाएको अनुमति अनुसार समापन गर्नुपर्नेमा झन् राष्ट्रिय कलाकार बोलाएर जोरतोड्का साथ कार्यक्रमहरु गरिरहेको हो ।

विद्यालयमा बार्षिक परिक्षा चलिरहेका बेला विद्यालय नजिकै महोत्सवमा गायिका एलिना चौहानसहितका कलाकारहरुले आफ्नो प्रस्तुती दिदैंछन् । स्थानीयहरुले विरोध गरेपनि आयोजकले एकलौटी रुपमा महोत्सव चलाईरहेको छ । जसका कारण बार्षिक परिक्षा दिने विद्यार्थीहरुलाई असर परेको छ ।

चैत्र १ गतेदेखि बार्षिक परिक्षाका कारण ३ गतेसमम थपिएर महोत्सव विरोधपछि स्थगित गरिएको थियो । २०८० फागुन १० गते उच्च अदालत सुर्खेतले विद्यालय क्षेत्र आसपास मेला महोत्सव नगर्न गरेको आदेश विद्यालयले परिक्षाको समयमा पालना गर्न महोत्सव आयोजक संस्था दैलेख उद्योग बाणिज्य संघ विद्यालयहरुले चेतावनी दिदाँ समेत अटेर गरेको जनाईएको छ ।

महोत्सव ठेकेदारले मोटो रकम आयोजकलाई दिएको कारण महोत्सवको मिति बढाईएको बुझिएको छ । श्रोतका अनुसार ठेकेदारले दैलेख उद्योग वाणिज्य संघलाई १३ लाख रुपैँया दिने गरि महोत्सवको ठेक्का लिएको थियो । जसअनुसार प्रदेश टिकट, रमाईलो मेला, जुवा, स्टल लगायतबाट ठेकेदारले पैसा असुल्नेछ भने, उद्योग वाणिज्य संघले ठेकेदारले दिएको पैसाबाहेक प्रयोजनबाट पैसा प्राप्त गर्नेछ । महोत्सवको आयोजकले कुनै पनि प्रतिक्रिया दिएको छैन् ।