☰ open Loading... 30 April 2024|  

रारामा बढ्यो पर्यटकीय चहलपहल
पश्चिम नेपाल   | १ चैत्र २०८०, बिहीबार १६:२९

कर्णालीको प्रमुख पर्यटकीय गन्तब्य रारामा पर्यटक चहलपहल सुरु भएको छ । जाडो सकिएसँगै रारामा स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्न थालेको हो । गर्मी मौसम सुरुवातसँगै घुम्नेको संख्या बढिरहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी जयहरि धितालले बताए । रारा घुम्न मौसम सुरु भएपछि काठमाडौं, पोखरा, बुटवल, भैरहवालगायतका सहरबाट दैनिक ३० देखि ४० जना आउन थालेको उनको भनाई छ । छिमेकी जुम्ला, हुम्ला, बाजुराबाट पनि विद्यार्थी, कर्मचारी रारा भ्रमणमा आउन थालेका छन् । केही दिनअघि क्यानडा, अमेरिकाबाट ९ जना बिदेशीको टोली रारा घुमेर फर्किएको छ ।

गत पुसदेखि पर्यटकीय चहलपहल घटेको रारामा सातायता आन्तरिक पर्यटकको चहलपहल बृद्धि हुँदै गएको निकुञ्जको कार्यालयले जनाएको छ । पर्यटक आउन थालेपछि रारा वरपरका होटल व्यवसायी, घोडा चालक र डुंगा चालक पनि खुशी छन् । पर्यटकलाई रारा तालमा घुमाउन ६ वटा रबरका डुंगा तयारी अवस्थामा राखिएको छ । रारा माझघट्ट होमस्टेका संचालक धनसिंह रोकायाले पुस, माघमा सुनसान जस्तै भएको रारामा चहलपहल बढिरहेको बताए । पर्यटक आउन थालेपछि रारा वरपरका एक दर्जन भन्दा होटल व्यवसायीले कोठा सरसफाई, तरकारी, चामल, मासु, घ्यू तेल, खाद्यन्न जुटाउन थालेका छन् । गत पुसदेखि घरतिर लगेका घोडाहरु पर्यटक आगमन बढ्न थालेपछि रारा तर्फ ल्याउन थालेका छन् । मुर्मा, झयारी, पिना, माथितुम, कोटिलालगायत बस्तीका करिब दुई सय भन्दा बढी घोडा रारामा ल्याएर पर्यटकका झोला, समान बोक्न तयारी गर्न थालेका छन् । नेपालकै उत्कृष्ट गन्तब्य रारा हेर्न आउने पर्यटकको लागि हवाई र कर्णाली राजमार्ग गरी दुई वटा मार्ग छन् । नेपालगन्जदेखि हवाईमार्ग रारा विमानस्थल पुग्न ३५ मिनेट र त्यहाँबाट रारा तालको किनारसम्म पुग्न गाडीमा आधा घण्टा र पैदल एक घण्टा समय लाग्ने गरेको छ ।

काठमाडौंबाट नेपालगन्ज, सुर्खेत, दैलेख, कालीकोट, जुम्लाको नाग्मा सिंजा हुँदै गाडीमा रारा पुग्न करिब दुई दिन लाग्ने गरेको छ । रारा घुम्न आउनेलाई विशेष गरी स्थानीय उत्पादनमा आधारित खाना खुवाउने गरेको छ । यहाँका होटलले रातो मार्सीको भात, मास तथा सिमीको दाल, आलुको तरकारी, मह, कोदो, गहुँको रोटी र फापरका बिभिन्न परिकार बनाएर पर्यटकलाई खाना तथा नास्ताको रुपमा दिने गरेको छ । समुद्री सतह देखि २९ सय ९० मिटर उचाईमा रहेको रारा तालको गहिराई १ सय ६७ मिटर छ । बिस २०३२ सालमा स्थापना भएको रारा राष्ट्रिय निकुन्ज क्षेत्रमा ३ प्रकारका हिमाली असला माछा, २ सय २४ प्रकारका बनस्पति र २ सय ७२ प्रकारका चरा पाइने गरेको छ ।

जडिबुटी, वन्यजन्तु, चरा, लोपोन्मुख असला जातका माछाले गर्दा राराको गौरब बढाएको निकुन्जका रेन्जर सरोज खड्काले बताए । निकुन्ज क्षेत्रभित्र ५१ प्रजातिका स्तनधारी जनावरसहित रेडपाण्डा पनि पाइने देखिने गरेको छ । गुच्ची च्याउ पाँच औले कटुकी, सुगन्धवाललगायत बिभिन्न प्रकारको जडिबुटीसहित कोणधारी जंगल र चैत, बैशाखमा फुल्ने लालीगुराँसले रारा ढकमक्क हुने गरेको छ । रारा ताल वरपर ७ वटा भन्दा बढी धार्मिक मठमन्दिर रहेका छन् । यहाँ ठाकुर ज्यूको मन्दिर, छाप्रु महादेव, रारा महादेव, दोफ्या महादेव, ठाकुरनाथ महादेव, लादुक महादेव रारा मष्टो, छाप्रु मष्टो, रारा कुलेवता गरी रारामा सात वटा धार्मिक मठमन्दिर छन् ।

ईकान्तिपुरबाट