☰ open Loading... 22 April 2024|  

माछापालनबाट खुसी छन् राजेन्द्रका दम्पती
पश्चिम नेपाल   | ३ चैत्र २०८०, शनिबार १०:०६

पातारासी गाउँपालिका– ६ बाता गाउँका स्थानीय युवा राजेन्द्र बुढा १० वर्षदेखि गैरसरकारी संस्थामा कार्यरत छन्। जागिरका साथसाथै उनले कृषि फार्म पनि सञ्चालन गरेका छन्। उच्च शिक्षा हासिल गरेका उनले जागिरबाट बचेको समय यही फार्म सञ्चालनमा लगानी गर्दै आएका छन्।

राजेन्द्रले सञ्चालन गरेको फार्मको नाम हो–राजस्व कृषि फार्म। उनको लक्ष्य भविष्यमा उदाहरणीय कृषक बन्नु रहेको छ। जगिरबाट अवकाश पाएपछि सिंगो समय यही फार्म सञ्चालनमा लगानी गर्ने उद्देश्यको इच्छा रहेको छ। उनी भन्छन्, ‘आफ्नो गाउँठाउँमा केही गर्न सकिन्छ कि भनेर यसमा हात हालेको हुँ।’

राजेन्द्रले सञ्चालन गरेको फार्ममा माछापालन हुन्छ। एनले पहिलो वर्ष मत्स्य अनुसन्धान केन्द्र नुवाकोटदेखि माछा ल्याएर पाल्न सुरु गरेका हुन्। दोस्रोपटक रेन्बो ट्राउट अनुसन्धान केन्द्र रसुवाबाट माछा ल्याए। एकपछि अर्को गर्दै उनले लगानी पनि थप्दै गए।

बुढाले आफ्नै दुई सय ३५ वर्ग मिटर जग्गामा सातवटा पोखरी निर्माण गरेर माछापालन सुरु गरेका छन्। ती पोखरीमा करिब २५ हजारभन्दा बढी माछा छन् भने १५ हजार भुरा छन्। अहिले फार्मका लागि उनले १७ लाख ६५ हजार रुपैयाँ लगानी गरिसकेका छन्।

लगानी गरेअनुसार आम्दानी पनि दिन थालेकोमा उनी सन्तुष्ट छन्। उनी भन्छन्, ‘जागिरले भन्दा माछापालनले सन्तुष्टि दिन लागेको छ।’ व्यवसाय सुरु भएको दुई वर्ष पुरा पुगेको राजेन्द्रपत्नी सत्यदेवी बुढाले बताइन्। उनले भनिन्, ‘दुई वर्षको अवधिमा सात लाख ३२ हजारका माछा बिक्री गर्‍यौं।’

राजेन्द्रपत्नी सत्यदेवीले चालु वर्षमा १२ देखि १५ लाख रुपैयाँ बराबरको माछा बिक्री गर्ने लक्ष्य लिएको बताइन्। उनी भन्छिन्, ‘जुम्लालाई माछामा आत्मनिर्भर बनाउने हामीले उद्देश्य राखेका छौं।’

माछा उत्पादनमा जुम्ला आत्मनिर्भर छैन। यहाँ भारतीय तथा आयातीत माछाले बजार ओगटेको छ। अहिले प्रति केजी दुई हजारमा माछा बिक्री भइरहेको छ। सत्यदेवीले भनिन्, ‘हाम्रो ठाउँ चिसो हावापानी भएकाले व्यावसायिक तवरले माछापालनका लागि उपयुक्त छ। यही सन्देश दिनका लागि पनि हामीले माछापालन सुरु गरेका हौं।’

ग्राहकहरू माछा किन्नका लागि फार्ममा पनि आउने गरेको सत्यदेवीले बताइन्। उनले भनिन्, ‘फार्ममा आइपुगेका ग्राहकलाई प्रति केजी एक हजार ८ सय रुपैयाँमा बिक्री गर्दै आएका छौं। पोखरीबाट निकाल्दैको माछा ताजा हुने भएकाले सहजरुपमा बिक्री हुन्छ। बजारको कुनै चिन्ता छैन। मागअनुसार माछा पुर्‍याउन सकिएको छैन।’

फार्मले माछापालन सुरु गरेको छोटो समयमै आम्दानी दिन थालेपछि सत्यदेवीका दम्पती यसलाई विस्तार गर्ने सोचमा छन्। उनीहरु भन्छन्, ‘यहाँ दैनिकजसो माछा हेर्न आउने गर्छन्। हामीले अवलोकन गर्न आउनेलाई यहाँको चिसो हावापानीमा माछापालन गर्न सकिन्छ भनेर सुझाव र सल्लाह दिने गरेका छौं।’

जुम्ला समुद्री सतहदेखि २ हजार ६ सय ६८ मिटर उचाइमा पर्दछ। उनीहरुको माछापालन फार्म सदरमुकाम खलंगादेखि ८ किलोमिटर टाढा पर्छ। जुम्ला बजार हुँदै मुगुको राराताल जाने प्रवेशद्वार भएकाले पनि माछा खपत उच्च रहेको सत्यदेवीका दम्पतीको अनुभव छ।

नागरिकन्यूजबाट