☰ open Loading... 21 May 2024|  

६ वर्षको पर्खाइपछि मुख्यमन्त्री बन्दै यामलाल
पश्चिम नेपाल   | २१ चैत्र २०८०, बुधबार १८:५०

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका थिए । लगत्तै उनले प्रदेश प्रमुख तिलक परियारलाई राजीनामा बुझाए ।

कर्णालीको मुख्यमन्त्रीका लागि एमाले र माओवादी केन्द्रबीच भएको तीन दिनको रस्साकस्सीपछि अन्तत: एमालेका संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

शर्माको राजीनामा घोषणासँगै एमालेका प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । २०७४ सालदेखि नै मुख्यमन्त्री दाबी गर्दै आएका कँडेल अब भने मुख्यमन्त्री बन्ने पक्का जस्तै भएको छ ।

२०७९ सालको निर्वाचनलगत्तै उनले मुख्यमन्त्री बन्ने कोसिस गरेका थिए । तर, २०७८ पुस १० गते बनेको एमाले-माओवादी गठबन्धनमा भागबन्डा हुँदा कर्णालीको मुख्यमन्त्री पद माओवादीले लिएपछि उनी सो पदमा पुग्न असफल भएका थिए ।

अघिल्ला कार्यकालमा एमालेको स्पष्ट बहुमतसहित २० सिट थियो । २०७४ र २०७९ मा दुई पटक प्रदेशको चुनाव जितेका उनी अब कर्णालीको मुख्यमन्त्री बन्नेछन् ।

२०७९ को निर्वाचनपछि कांग्रेस र माओवादी केन्द्रको समीकरण भत्किएर प्रचण्ड प्रधानमन्त्री बनेका थिए । त्यसबेला पनि उनी मुख्यमन्त्रीको दौडमा थिए । तर, दुई महिनामै उक्त गठबन्धन भत्किएको थियो ।