☰ open Loading... 3 May 2024|  

नगर प्रमुखकै जिम्माको विकास अलपत्र
पश्चिम नेपाल   | ३० चैत्र २०८०, शुक्रबार १८:५७

मधुवनका नगर प्रमुख तेजबहादुर भाट सेयर सदस्य रहेको प्रेम निर्माण सेवाले जिम्मा पाएको विकास निर्माणका काम अलपत्र परेको छ। प्रेम निर्माण सेवाले लामो समयदेखि ठेक्का सम्झौता गरेका तीन पालिकाका सडक पूर्वाधार विकासका काममा लापरबाही गरिरहेको पाइएको छ।

बारबर्दिया नगरपालिकामा विकास पूर्वाधारको काम लिएर अलपत्र पार्ने निर्माण कम्पनी ११ वटालाई कालो सूचीका लागि सिफारिस गरिएको इन्जिनियर प्रकाश शाहीले बताए। विकास अलपत्र पारेको सूचीमा मधुवनका नगर प्रमुख भाट सेयर सदस्य रहेको प्रेम निर्माण सेवा ११ वटा निर्माण कम्पनी मध्यमा पर्दछ।

कार्यालयका अनुसार प्रेम निर्माण सेवाले जिम्मा लिएका भौतिक पूर्वाधार विकासका काम अलपत्र पर्दा समस्या उत्पन्न भइरहेको छ। प्रेम निर्माण सेवाले बढैया ताल गाउँपालिकामा अघिल्लो आर्थिक वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने सडक पूर्वाधार र कर्भट निर्माणका लागि यस आर्थिक वर्षको लागि म्याद थप गरिएको बढैया तालका सब इन्जिनियर उमानबहादुर हमालले बताए।

बढैया तालको सतपतिया राधाकृष्ण भवानी प्रावि हँुदै तमौलीपुरसम्म पुग्ने सडक खण्डको कार्यालयको ठेक्का नम्बर ३ को एक करोड ८५ लाख रुपैयाँ बोलपत्र आह्वान गरिएको थियो। उक्त ठेक्का प्रेम निर्माण सेवाले एक करोड तीन लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको उल्लेख छ।

यस्तै बढैया तालको ठेक्का नं ५ को भौतिक पूर्वाधारको कबोल रकम प्रेम निर्माण सेवाले सम्झौता गरेको पाइएको छ। शिव चौक हुँदै पडरियासम्म सडकसहित कल्र्भट निर्माणको काम एक करोड ७९ लाखमा ठेक्का आह्वान गरेको थियो। उक्त सडक खन्ड सम्पन्न गर्न एक करोड १४ लाखमा प्रेम निर्माण सेवाले सम्झौता गरेको छ।

गत वर्ष सम्पन्न गर्ने सम्झौता भए पनि म्याद थप गरिएको हमालले जानकारी दिए। ‘म्याद थप गरिएको ठेक्काको कार्यालयले रनिङ बिल निर्माण कम्पनीले लिइसकेको छ’, उनले भने। मधुवनको अक्सफाल्डको पक्की सडकको कामका लागि मधुवन नगरपालिकाले पनि पटकपटक म्याद थपेको थियो।

पछिल्लो समय मधुवनको अक्सफाल्ड पक्की सम्पन्न भएको मधुवन कार्यालयले जानकारी दिएको छ। प्रेम निर्माण सेवा वा कुनै निर्माण कम्पनीमा नरहेको मधुवनका नगर प्रमुख तेजबहादुर भाटले बताए। ‘६–७ महिनाअघि सेयर सदस्यबाट हटिसकेको छु’, उनले भने, ‘सेयर सदस्य रहँदाको १४ कट्ठा जग्गा जाने भयो।’ प्रेम निर्माण सेवाको विषयमा पछिल्लो समय जानकार नभएको उनको भनाइ छ।

प्रेम निर्माण सेवा प्रालिमा चारजना सेयर सदस्यमा पूर्व कर्मचारी महेन्द्र गिरी छन्। पटकपटक गिरीसँग सम्र्पक गर्न खोज्दा उनले प्रयोग गर्ने मोबाइलको स्विच अफ छ।